ट्विटर र एप्पलबीचको विवाद के हो ?



एजेन्सी । विश्वकै सबैभन्दा धनी व्यक्ति तथा ट्विटरका मालिक एलन मस्कले मंगलबार एउटा ट्विट गरे । उक्त ट्विटमा लेखिएको थियो, ‘एप्पलले ट्विटरमा गरिरहेको धेरै विज्ञापनलाई बन्द गरेको छ । के एप्पल अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता हुनुको विरुद्धमा छ?’

उक्त ट्विटसँगै मस्कको अर्को ट्विट पनि आयो, ‘एप्पले ट्विटरलाई आफ्नो एपस्टोरबाट हटाउने धम्की दिइरहेको छ । तर, किन भन्ने कुराको जानकारी दिएको छैन ।’

संसारकै धनि व्यक्ति मस्क र उनको कम्पनी ट्विटर र एप्पलबीच चलिरहेको विवादको यो सानो झलक मात्रै थियो । एकातिर संसारकै धनि व्यक्ति र उनको कम्पनी छ भने अर्कातिर संसारकै ठूलो, धनि र चर्चित मध्येको कम्पनी ।

मस्कले आफ्नो दाबीमा एप्पले ट्विटर एपलाई आइओएस एपस्टोरबाट हटाउने धम्की दिएको बताइरहेका छन् । एपस्टोर एप्पलका स्मार्ट उपकरणहरुको एप डाउनलोड गर्ने ठाउँ हो । मस्कले एप्पलमाथि यस्तो आरोप लगाउँदै र आफूले दाबी गर्दै एप्पलका सिइओ टिम कुकलाई पनि ‘के भइरहेको छ?’ भन्ने प्रश्न गरेका थिए ।

मस्कले सुरुवातमा गरेका यी ट्विटहरु विवादकोे सुरुवात मात्रै थियो । मस्कले त्यस लगत्तै अन्य ट्विट गर्दै एप्पलविरुद्ध लेखिरहेका छन् ।

मस्कले एक अर्को ट्विटमा एप्पलले एपस्टोरबाट एप किन्दा लिने रकमको पनि आलोचना गरे । उनले लेखेका छन्, ‘के तपाईंलाई थाहा छ, एप्पल आफ्नो एप स्टोरको माध्यमबाट किनिने हरेक चिजमा गुप्त शैलीमा ३० प्रतिशत कर लगाउँछ ?’

यी ट्विटहरु मस्क र एप्पलबीच भइरहेको विवादलाई दर्शाउने ट्विटहरु हुन् । मस्कले मंगलबार थप एक तस्बिर राख्दै एप्पललाई ३० प्रतिशत कर तिर्ने वा युद्धमा जाने भन्ने किसिमले व्यंग्य पनि गरेका छन् । उनले आफू ट्याक्स तिर्न नचाहने भएकाले युद्धतर्फ मोडिरहेको देखिने तस्बिरमार्फत एप्पलमाथि कटाक्ष गरेका छन् ।

यसबीच एप्पलको एप स्टोरका मालिक फिल शिलरले आफ्नो ट्विटर एकाउन्ट पनि डिलिट गरेका छन् । एप्पलको एप स्टोरका मालिकले ट्विटर छोडेसँगै नोमेम्बरमा ट्विटरलाई एप्पलमार्फत प्राप्त हुने विज्ञापन र त्यसवापत हुने आम्दानी पनि कम भएको मस्कले जनाएका छन् ।


क्लिकमान्डु