३ महिनामा ३ अर्ब ४३ करोडका साढे २२ हजार बीमा पोलिसी त्याग, कुन कम्पनीबाट कति ?



काठमाडौं । ३ महिनामा जीवन बीमा कम्पनीहरुमा ३ अर्ब ४३ करोड रुपैयाँका पोलिसी त्याग भएका छन् ।

चालु आवको ३ महिना अर्थात साउन, भदौ र असोजमा ३ अर्ब ४३ करोड ४६ लाख ८५ हजार रुपैयाँ बराबरका २२ हजार ५३७ वटा पोलिसी त्याग भएका हुन् ।

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार असोज महिनामा ७७ करोड ३२ लाख २८ हजार रुपैयाँका ६ हजार ६३ वटा पोलिसी त्याग भएका छन्् । यस्तै, कम्पनीहरुमा भदौ महिनामा १ अर्ब १४ करोड ८६ लाख ७२ हजार रुपैयाँका ८ हजार ५२ वटा र साउन महिनामा एक अर्ब ५१ करोड २७ लाख ८५ हजार रुपैयाँ बराबरका ८ हजार ४२२ वटा पोलिसी त्याग भएका थिए ।

लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सका बीमितिले ठुलो संख्यामा आफ्नो पोलिसी त्याग गरेको तथ्यांकले देखाउँछ । कुल सरेण्डर पोलिसीमध्ये नेपाल लाइफको ३८.३५ प्रतिशत सरेण्डर भएको बीमा समितिको तथ्यांक छ । साउन, भदौ र असोज महिनामा नेपाल लाइफका १ अर्ब ३३ करोड ५४ लाख रुपैयाँका ८ हजार ६४४ वटा बीमालेख सरेण्डर भएका छन् । जुन कुल समर्पण मूल्यको ३८.८८ प्रतिशत हुन आउँछ ।

साउन, भदौ र असोज महिनामा लाइफ इन्स्यारेन्स कर्पोरेसन(एलआइसी नेपाल) मा ७२ करोड ३९ लाख रुपैयाँ बराबरका ३ हजार ३७९ वटा बीमालेख त्याग भएका छन् । जुन कुल समर्पण संख्याको १४.९९ प्रतिशत र समर्पण मूल्यको २१.०८ प्रतिशत हो ।

राष्ट्रिय बीमा संस्थानमा २१ करोड ५० लाख रुपैयाँ बराबरका २ हजार ६३४ वटा बीमालेख सरेण्डर भएका छन् ।

सबै भन्दा कम पोलिसी सरेण्डर हुनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा महालक्ष्मी लाइफको १ करोड ३८ लाख रुपैयाँ बराबरका ६८ वटा पोलिसी सरेण्डर भएका हुन् । यो कुल सरेन्डर पोलिसीको ०.३० प्रतिशत मात्रै हो । भने कुल सरेण्डर रकमको ०.४० प्रतिशत मात्रै हो ।

बीमितहरुले एशियन लाइफबाट १ हजार ८५१ वटा, नेशनल लाइफबाट २ हजार १४४ वटा, मेट लाइफबाट १ हजार १७ वटा, प्राइम लाइफबाट १४४ वटा, सूर्या लाइफबाट ५५८ वटा बीमालेख त्याग गरेका छन् ।

यस्तै, आइएमई लाइफबाट ११४ वटा पोलिसी त्याग भएका छन् । यूनियन लाइफबाट २ करोड ८६ लाख रुपैयाँ बराबरका १३३ वटा, ज्योति लाइफका २ करोड ४४ लाख रुपैयाँ बराबरका १८० वटा, सन नेपाल लाइफका ८९ लाख रुपैयाँ बराबरका १८० वटा, रिलायन्स लाइफका १ करोड ४८ लाख रुपैयाँ बराबरका १६६ वटा, रिलायबल नेपाल लाइफका १ करोड ८० लाख रुपैयाँ बराबरका ३९२ वटा पोलिसी त्याग भएको प्राधिकरणको तथ्यांक छ ।

यस्तै, सिटिजन लाइफका ३ करोड ९७ लाख रुपैयाँ बराबरका २१० वटा, सानिमा लाइफका १ करोड ४ लाख रुपैयाँ बराबरका २१० वट र प्रभु लाइफको २ करोड १ लाख रुपैयाँ बराबरका १२७ वटा बीमालेख त्याग भएका छन् ।

पोलिसी त्याग्नको संख्या घट्दो क्रममा

जीवन बीमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोक्नु सरेण्डर गर्नु हो । बीमितहरुले निश्चित वर्षको लागि भनेर जीवन बीमालेख खरिद गर्ने तर समय नपुगी उक्त पोलिसी त्याग्ने क्रम बढ्दो क्रममा थियो ।

तर, पछिल्लो तथ्यांकअनुसार भने बीमितहरुले पोलिसी त्याग्ने क्रममा सुधार देखिएको हो ।

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार भदौ महिनाको तुलनामा असोजमा पोलिसी त्याग्ने क्रममा सुधार देखिएको छ ।

भदौ महिनाको तुलनामा असोज महिनामा पोलिसी सरेण्डर गर्नेको संख्या र रकम दुवै घटेको हो ।

भदौ महिनाको तुलनामा असोजमा पोलिसी त्याग्नेको संख्या २४.७० प्रतिशतले घटेको हो । अर्थात भदौको तुलनामा १ हजार ९८९ वटा कम पोलिसी त्याग भएका हुन् ।

यस्तै, पोलिसी समर्पण रकम पनि ३२.६९ प्रतिशतले कमी हो ।

बीमा पोलिसी सरेण्डर गर्न पाउने व्यवस्था निर्देशकाले नै गरिदिएको छ । पछिल्लो समय प्राधिकरणले बीमालेख खरिद गरेको १ वर्षमै पोलिसी सरेण्डर गर्न सक्ने व्यवस्थालाई कडाई गर्दै ३ वर्ष पुर्याएको छ ।

प्राधिकणद्धारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिकाले बीमा पोलिसी समर्पण मूल्य समेत निर्धारण गरेको छ ।

बीमितले बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ  । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकम समेत जोडिने छ  ।

बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्नुको कारण बीमितलाई आर्थिक संकट पनि हो । बीमालेख खरिद गर्नुपूर्व आफुले खरिद गर्ने बीमा योजनाका बारेमा राम्रोसँग नबुझ्दा बीमितलाई आफ्नो बीमालेखलाई निरन्तरता दिन नसक्ने अवश्था सृजना हुने विज्ञहरु बताउँछन् ।

ग्राहकले आफ्नो आवश्यकता अनुसारका पोलिसी किन्ने वातावरण सृजना नभएसम्ममा पोलिसी बीचमै बन्द हुने समस्या चलिरहने बीमकहरु बताउँछन् ।


क्लिकमान्डु