६ दल राष्ट्रिय पार्टी बन्ने लाइनमा, जनमत र एकीकृत समाजवादीले भोट पुर्‍याए दुई दल थपिने



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ ।

प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्र मध्ये १५७ स्थानाको नतिजा आइसकेको छ र पाँच स्थानको गणना भइरहेको छ । तीन क्षेत्रमा विवादका कारण मतगणना भएको छैन ।

आइतबार राति ९ बजेसम्मको विवरण अनुसार नेपाली कांग्रेस ५३, एमाले ४२, माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राप्रपा ७, जनता समाजवादी पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३ तथा स्वतन्त्र र अन्यगरि ८ पार्टीले जित निकालेका छन् ।

कानूनी व्यवस्था अनुसार प्रत्यक्षमा कम्तिमा १ निर्वाचन क्षेत्र र समानुपातिकमा न्यूनतम ३ प्रतिशत मत कटाउने दल राष्ट्रिय पार्टी बन्न सक्छन् । राष्ट्रिय पार्टी बाहेकका दलहरुका निर्वाचित सांसदहरु स्वतन्त्र सांसदको रुपमा रहने व्यवस्था छ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये ६१ प्रतिशतले मत खसालेको जनाएको छ ।

समानुपातिकको मतगणना जारी रहँदा कुल सदर मतका आधारमा एमाले, कांग्रेस, रास्वपा, माओवादी, राप्रपा र जसपा राष्ट्रिय पार्टी बन्ने लगभग निश्चित भइसकेको छ ।

अन्य दुई दल जनमत पार्टी र नेकपा एकीकृत समाजवादी २ लाख ४४ हजार भन्दा कम मतमा छन् । जनमतले २ लाख ४३ हजार ४८४ र एकीकृत समाजवादीले २ लाख ४१ हजार ८४८ मत पाएका छन् ।

आज राति सवा ९ बजेसम्मको निर्वाचन आयोगको तथ्यांक अुसार ९० लाख ९१ हजार २५४ मत गणना भएको छ ।

समान्यतया राष्ट्रिय दल बन्नका लागि ३ लाख कटाउनु पर्ने देखिइरहेको अवस्था यी दुई दलले ‘थ्रेस होल्ड’ कटाउँछन् कि कटाउँदैनन् भन्नेमा चासो रहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो राति सामाजिक सञ्जालमार्फत केही दलको सुरुवाती मतगणनाको तुलनामा अस्वभाविक मत आएको भन्दै मतगणनामा सचेत रहन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए भने त्यस्तै बयान राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले दिएका थिए ।

ओलीले एकीकृत समाजवादीको सुरुवाती मतको रुझान कम भए पनि पछिल्लो समय मत बढी आएकोतर्फ लक्षित गर्दै बयान गरेका थिए ।


क्लिकमान्डु