सामाजिक सुरक्षा कोषमा १० घातक रोगको उपचार सुविधा थपियो



काठमाडौं । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सुरक्षा कोषमा योगदानकर्ताले विगतमा पाएको सेवासुविधामा अतिरिक्त थप सुविधाको व्यवस्था गरेको बताएका छन् ।

आइतबार नेपाल टे«ड युनियन महासंघ (जीफन्ट) ले सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमा यस्तो बताएका हुन् । उनले कोषको कार्यविधि परिमार्जन गरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ताहरुले पाइरहेको सेवासुविधा थप गरी १० घातक रोगको उपचारमा १० लाख रुपैयाँ दिने व्यवस्था गरेको बताए ।

उनले सामाजिक योगदानमा आधारित सुरक्षा कोषमा श्रीमानले यागेदान गर्दा श्रीमतीले पनि श्रीमान सरह उपचार खर्च पाउने व्यवस्था गरेको बताए ।

उनले सुरक्षा कोषको औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत थप श्रमिकमैत्री बनाउने गरी कोष अगाडि बढेको बताए । उनले कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा बढाउने काम भइरहेको बताए ।

उनले कोषको सञ्चालक समितिको बैठकले अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयमा पठाएकाले चाँडै स्वीकृत हुने तयारी रहेको बताए ।

उनले मन्त्रालयले नीति स्वीकृत भएपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पाउने बताए । उनले कोषले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको लागि कार्यविधि बनाइएको बताए ।

उनले कोषले वैदेशीक रोजगारीमा गएका श्रमिकहरुको दुर्घटना खर्च,अशक्त आश्रित परिवारका लागि सुरक्षा योजना स्वीकृतको चरणमा रहेको बताए । उनले सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सुविधाहरु छिटो र सहज बनाउँदै विश्वनिय बनाउन आवश्यक रहेको बताए ।

पछिल्लो समय योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आकर्षण बढ्दै गएको छ । प्रत्येक महिनामा चारदेखि ६ हजार श्रमिकहरू सामाजिक सुरक्षा कोषमा जोडिन थालेको कोषले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन् । हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ । जसमध्ये दुई अर्ब ५७ करोड रकम औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, अवकाश दाबी लगायत विभिन्न शीर्षकमा भुक्तानी गरिएको कोषले बताएको छ ।


क्लिकमान्डु