डिसेम्बर २ मा सार्वजनिक हुँदै ट्विटरको प्रमाणीकरण सुविधा



काठमाडौं । माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरले डिसेम्बर २ बाट प्रमाणीकरण सुविधा (भेरिफिकेसन फिचर) सार्वजनिक गर्ने भएको छ ।

ट्विटरका नयाँ मालिक एलन मस्कले जनाएअनुसार कम्पनीले सरकार, कम्पनी र सामान्य प्रयोगकर्तालाई फरक फरक किसिमको प्रमाणीकरण गर्नेछ ।

कम्पनीले जनाएअनुसार अब सार्वजनिक हुने नयाँ प्रमाणीकरण सुविधामा कम्पनीहरुलाई गोल्ड चेक, सरकारलाई ग्रे चेक र आम नागरिकलाई ब्लु टिकमार्फत भेरिफिकेसन दिइनेछ ।

सँगै सबै प्रयोगकर्ता तथा एकाउन्टहरुलाई प्रमाणीकरण गर्दा उनीहरुलाई म्यानुअल्ली परीक्षण गरिनेछ । मस्कले यो प्रक्रिया धेरै समय खर्चिलो भए पनि यो आवश्यक भएकाले सबै एकाउन्टहरुलाई एक–एक गर्दै चेक गरिने जनाएका छन् ।

यसअघि कम्पनीले नयाँ प्रमाणीकरण सुविधा नोमेम्बर २९ मा सार्वजनिक गर्ने जनाएको थियो । तर, विभिन्न कारणले ढिलाई भएपछि अब यसलाई डिसेम्बर २ मा सार्वजनिक गर्न लागिएको हो ।

ट्विटरमा नयाँ प्रमाणीकरण सुविधाअनुसार कुनै पनि प्रयोगकर्ताले भेरिफिकेसन टिक लिनका लागि मासिक ७.९९ अमेरिकी डलर लाग्ने कम्पनीले यसअघि नै जानकारी दिइसकेको छ ।


क्लिकमान्डु