सहकारीलाई महानगरको निर्देशनः पुस मसान्तभित्र साधारणसभा सक्नु, भाषण नगर्नु, सदस्यको भूमिका बढाउनु




काडमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको सहकारी विभागले सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ ।

विभागले पुस मसान्तसम्म सभा गर्न र १५ दिन भित्र सभाले पारित गरेको प्रमाणित प्रतिवेदन पेश गर्न भनेको छ ।

विभाग अनुसार सहकारी संस्थामा सदस्य बनाएरमात्र कारोबार गर्ने र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न भनेको छ ।

साधारणसभामा कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित नभए गणपुरक संख्या नपुग्ने हुँदा गणपूरक संख्या पुर्याएरमात्र साधारणसभा सञ्चालन गर्न निर्देशन दिएको छ ।

विभागले साधारणसभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटनसत्रलाई तथा मन्तव्यको कार्यक्रम नराखी सो एजेन्डामा छलफल गर्ने वातावरण बनाउन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन एवं पेस हुने अन्य सबै प्रतिवेदन तथा विषयउपर पर्याप्त छलफल गर्न निर्देशन दिएको छ ।

यस्तै सञ्चालक समिति तथा लेखा समितिको निर्वाचन हुने भए प्रचलित कानुन, मापदण्ड एवं विनियमबमोजिमको योग्यता पुगेका सदस्यहरुमध्येबाट निर्वाचित गर्न भनेको छ ।

साधारणसभाबाट चालु आर्थिक वर्षको संस्थाको हिसाबकिताबको लेखापरीक्षण गर्न एकजना लेखापरीक्षक र आवश्यकतानुसार वैकल्पिक लेखापरीक्षक नियुक्तिको निर्णय गर्ने र निजको पारिश्रमिक तोक्ने, संस्थाको विनियम संशोधन, कार्यविधि, नियमावली, नीति साधारणसभाबाट पारित गर्न भनेको छ । संस्थाको चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम साधारणसभाबाट अनुमोदन गर्न भनेको छ ।


क्लिकमान्डु