एनसेलले सुरु गर्यो तीन वटा नयाँ प्रिपेड प्लान



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकताअनुसार सरल र सहज रुपमा यी प्लानहरु सुरु गर्न सक्नेछन् ।

नयाँ प्रिपेड प्लानअन्तर्गत तीन वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् । यी प्याकहरु आइतबार (मसिर ४) देखि सञ्चालनमा आएका छन् । ग्राहकले सजिलोको कर सहित ९७ रुपैयाँ, सहयात्री प्लानको ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँमा लिन सक्नेछन् ।

स्टार्टर प्याकअन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रुपमा सजिलो प्लान प्राप्त गर्नेछन् । यसमा १० रुपैयाँ मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसीमा रहेको २० वटा अन नेट एसएमएसको व्यवस्था गरेको छ । यस्तै यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कल अन्तर्गत कर सहित १.६२ रुपैयाँमा प्रति मिनेटमा कल, १ रुपैयाँमा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक १ रुपैयाँमा पठाउँन सक्नेछन् ।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरुका लागि सहयात्री प्लान रहेको छ । यो प्लानअन्तर्गत ग्राहकले १० रुपैयाँमा मेन ब्यालेन्स, १०० एमबी डेटा, ७ दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्नेछन् । यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधाको व्यवस्था गरेको छ ।

सहयात्री प्लानअन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्नेछन् । यस सेवामा ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफुले सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्नेछन् । साथै, सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो १ मिनेट पछि छुट प्राप्त गर्न सक्छन् ।

त्यस्तैगरी, अर्को स्टार्टर प्याक युवा वर्गलाई लक्षित सही यो प्लान सार्वजनिक गरेको छ । प्लानअन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसीमा रहेको १ जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्नेछन् ।

साथै, यी सबै स्टार्टर प्याकहरुमा पहिलो रिचार्ज अफर पनि रहेको छ । कम्पनीअनुसार सिम कार्ड सुरु भएको अर्को दिनको मध्य राति सम्म २०० रुपैयाँ र सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् । प्राप्त बोनस पे एज यू गो .अन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ । बोनस रकम ३ दिनको लागि मान्य रहन्छ ।

नेपाल घुम्न आउने पर्यटकहरुका लागि पनि एनसेलले १०० रुपैयाँ, ५०० रुपैयाँ र एक हजार रुपैयाँका तीन प्लानहरु प्रदान गर्दै आएको छ । १०० को प्लानमा ग्राहकले २०० एमबी डेटा, १० मिनेट (लोकल कल) प्राप्त गर्छन् । ५०० रुपैयाँको प्लानमा पर्यटकले ५० मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसीमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्नेछन् । यस्तै, एक हजारको प्लानअन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, १०० मिनेट लोकल कल र २८ दिनको समयसिमा रहेको २५ जीबी डेटाबाट फाइदा लिन सक्नेछन् ।


क्लिकमान्डु