नेपालले निर्यात गर्‍यो तीन महिनामा साढे २ अर्बको गार्मेन्ट, युरोप मुख्य बजार



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा करिब साढे २ अर्बको रेडिमेड गार्मेन्ट निर्यात गरेको छ । नेपालले साउन, भदौ र असोज महिनामा २ अर्ब ३८ करोड ५८ लाख ४९ हजार रुपैयाँको ३७ लाख ५ हजार २७१ पिस रेडिमेड गार्मेन्ट निर्यात गरेको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३१.३४ प्रतिशतले बढेको छ ।

गत वर्षको तीन महिनाको अवधिमा नेपालले १ अर्ब ८१ करोड ६६ लाख रुपैयाँको २८ लाख २४ हजार ९३९ पिस रेडिमेड गार्मेन्ट निर्यात गरेको थियो ।

त्यस्तै, नेपालले आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब ४९ करोड २ लाख २९ हजार रुपैयाँको १ करोड ९४ लाख १३ हजार पिस रेडिमेड गोर्मन्ट निर्यात गरेको छ । नेपालबाट निर्यात हुने वस्तुमध्ये रेडिमेड गार्मेन्ट पनि मुख्य हो ।

त्यस्तै, नेपालबाट तीन महिनामा मुख्य निर्यात हुने पाँचौ स्थानमा गार्मेन्ट रहेको छ । नेपालमा उत्पादन भएको रेडिमेड गार्मेन्ट विशेषगरी युरोपमा निर्यात हुने गरेको तथ्याङ्कले देखाउँछ ।

नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले कोभिडपछि तयारी पोशाकको निर्यात बढेको बताए ।

उनकाअनुसार विश्वव्यापी रुपमा डलरको भाउसँगै कच्चा पदार्थको मूल्य अप्रत्याशित बढेको छ । साथै, कटनको भाउ पनि उच्च भएकाले सोही आधारमा तयारी पोशाकको निर्यात मूल्य बढेको देखिएको हो ।

‘कोभिडसँगै पछिल्लो समय रुस–युक्रेनबीचको द्वन्द्वले युरोपतर्फ रेडिमेड गार्मेन्टको निर्यात बढेको छ । साथै, अहिले बजारमा उच्च माग छ,’ उनले भने ।

त्यस्तै, आन्तरिक तथा बाह्य बजारमा गार्मेन्टको माग सकारात्मक हुँदा बजारमा भने तरलता अभावको समस्या व्यवसायीहरुले भोगिरहेका छन् । साथै, कोभिडपछि कच्चा पदार्थलगायत कार्गोको भाडाले झनै मारमा पारेको उनको भनाइ छ ।

‘अहिले कार्गोदेखि अन्य विभिन्न वस्तुको मूल्य अप्रत्याशित बढेको छ । उच्च निर्यात हुँदै आएको गार्मेन्टमा सरकारले थप सहजीकरण गरेमा अझै बढी निर्यात गर्न सक्ने अवस्था छ,’ उनले भने ।

व्यवसायीहरुले कोभिड अघिसम्म प्रतिकेजी तयारी पोशाकको कार्गो भाडा १ डलर रुपैयाँ तिर्दै आएका थिए । तर, कोभिडपछि भने कार्गोको भाडा तेब्बरले बढेको छ ।

अहिले व्यवसायीहरुले १ केजी तयारी पोशाकको कार्गो भाडा ४ रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । त्यसमाथि अहिले राष्ट्र बैंकले सस्तो ब्याजदरदेखि व्यवसायीले पाउने कर्जा दिन बन्द गरेको छ । उक्त निर्णयले गर्दा गार्मेन्ट क्षेत्रमा भनेअनुसारको निर्यात गर्न नसकेको उनको भनाइ छ ।

त्यसैगरी, राष्ट्र बैंकको नीतिल गार्मेन्ट क्षेत्रमा निकै असर पुगेको उनले बताए । उनकाअनुसार ब्याजदर र कर्जामा कडाइ गर्दा गार्मेन्ट क्षेत्रमा नयाँ लगानी भित्रिन सकेको छैन ।

‘गार्मेन्ट क्षेत्रमा नयाँ लगानी गर्छु वा थप्छु भन्दा पर्याप्त कर्जा पाइरहेको छैन,’ उनले भने, ‘सरकारले यस क्षेत्रलाई सहज वातावरण बनाइदिने हो भने निर्यातमा पहिलो नम्बर बन्नेछ ।’

कुन देशमा कति निर्यात ?

नेपालबाट तीन महिनामा करिब साढे २ अर्बको तयारी पोशाक निर्यात गर्दा अमेरिकामा मात्रै ५८ करोड ६६ लाख १२ हजार रुपैयाँ १४ लाख २२ हजार पिस निर्यात गरेको छ ।

त्यसपछि बेलायतमा तीन महिनाको अवधिमा ३६ करोड ८७ लाख ५४ हजार रुपैयाँको ४ लाख ४६ हजार ७२४ पिस, जर्मनीमा २४ करोड ६७ लाख २५ हजार रुपैयाँको २ लाख ३५ हजार ८२५ पिस, फ्रान्समा २० करोड ६२ लाख ३८ हजार रुपैयाँको ७४ हजार १२५ पिस र जापानमा २० करोड ३७ लाख १५ हजार रुपैयाँको १ लाख ६७ हजार ४४२ पिस र तयारी पोशाक निर्यात गरेको छ ।

त्यस्तै, १२ करोड ९९ लाख रुपैयाँको १ लाख २० हजार १८६ पिस इटलीमा र ११ करोड १९ लाख ७२ हजार रुपैयाँको १ लाख १९ हजार ६६५ पिस नेदरल्यान्डमा निर्यात गरेको छ ।

नेपालले युएईमा १ करोड ४२ लाख ५७ हजार रुपैयाँको २२ हजार २३४ पिस, स्वीजरल्यान्डमा १ करोड ४८ लाख ७४ हजार रुपैयाँको १५ हजार ३१७ पिस, स्वीडेनमा ३ करोड ६ लाख रुपैयाँ २३ हजार रुपैयाँको १० हजार ८७७ पिस, स्पेनमा ३ करोड ७३ लाख २८ हजार रुपैयाँको ९० हजार ३०७ पिस, न्यूजिल्यान्डमा २ करोड ३२ लाख ३६ हजार रुपैयाँको ३८ हजार २७ पिस र दक्षिण कोरियामा १ करोड ४३ लाख ३ हजार रुपैयाँको २५ सय २२ पिस निर्यात गरेको छ ।

साथै, आयरल्यान्डमा १ करोड ७७ लाख ५५ हजार रुपैयाँको १० हजार ५६१ पिस, भारतमा ६ करोड २७ लाख १९ हजार रुपैयाँको १ लाख ११ हजार ५६७ पिस, फिनल्यान्डमा १ करोड ४७ लाख २६ हजार रुपैयाँको १० हजार ५८० पिस, डेनमार्कमा ८ करोड १४ लाख ४९ हजार रुपैयाँको ७० हजार ३८७ पिस, चेच रिपब्लिकमा ३ करोड रुपैयाँको ३५ हजार पिस, क्यानाडामा ६ करोड ६५ लाख ५६ हजार रुपैयाँको १ लाख ९ हजार ४१९ पिस, अष्ट्रियामा ५ करोड ३९ लाख ३७ हजार रुपैयाँको १९ हजार २५९ पिस र अष्ट्रेलियामा ७ करोड ४० लाख रुपैयाँ १ लाख ८४ हजार २८२ पिस निर्यात गरेको छ ।


अरिष्मा मोक्तान