अनधिकृत राखिएका परिचय पाटी भत्काउँदै काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा राखिएका परिचय पाटी हटाउन सुरु गर्ने भएको छ ।

यस्ता वोर्ड हटाउन महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समयसीमाभित्र नहटाउनेको परिचय पाटी हटाउने महानगरले जनाएको छ ।

महानगरका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार पाटी हटाउँदा ख्याल गर्नुपर्ने केही विषय पाटी भत्काउने टोलीलाई सम्झाइएको छ । पाटी हटाउँदा ख्याल गर्नुपर्ने विषयका बारेमा डा. अधिकारीले भने, ‘३० बर्गफुटभन्दा धेरै आकार भएका सबै बोर्ड हटाइनेछ ।

प्रायोजकको वोर्ड पनि यही आकारभित्र हुनुपर्नेछ । मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ । अहिलेसम्म पनि नियमित भएका छैनन् भने तुरुन्तै वडामा सम्पर्क राख्न सकिन्छ । व्यवसायिक स्थलमा ३० वर्गफुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा धेरै बोर्ड हटाइनेछ । यस्तै सार्वजनिक स्थलमा रहेका झ्याल, ढोका छोपिने गरी राखिएका, छतमा राखिएका सबै वोर्ड हटाइनेछ ।’

यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइनेछ । विभागले असोज ७ गते ३० दिने सूचना दिएर मापदण्डभित्र राख्न सकिने परिचय पाटीको आकार र त्यसमा वार्षिक रुपमा लाग्ने दरसमेत उल्लेख गरेर सार्वजनिक सूचना प्रकाशन गरेको थियो । ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो । १५ बर्गफुटसम्मको १ हजार ५ सय रुपैयाँ लाग्नेछ ।


क्लिकमान्डु