ट्विटरले निकालेका कर्मचारीहरुमध्ये केहीलाई फिर्ता बोलायो



एजेन्सी । करिब आधा कर्मचारीलाई ईमेलमार्फत सन्देश पठाएर निकाल्ने गर्ने निर्णय गरेको केही दिनमा नै ट्विटरलाई असर परेको छ । ट्विटरका मालिक एलन मस्कले कम्पनीबाट निकालिएका कर्मचारीहरुमध्ये केहीलाई फिर्ता बोलाएका छन् ।

४४ बिलियन अमेरिकी डलरमा ट्विटर किनेका मस्कले केही दिनअघि कम्पनीमा कार्यरत करिब आधा कर्मचारीहरुलाई निकाल्ने निर्णय गरेका थिए । कम्पनीले ट्विटरको पुनः संरचना गर्ने बताउँदै थुप्रै कर्मचारीहरुलाई निकालेको थियो ।
उक्त निर्णय भएको केही दिनमा नै पुनः ट्विटरले केही कर्मचारीहरुलाई फिर्ता बोलाएको छ । प्रविधि सम्बन्धी वेबसाइट प्लेटफर्मरकाअनुसार गत साता करिब ३७ सय जना कर्मचारीलाई निकालेको कम्पनीले त्यत्तिबेला हतारमा कदम चाल्दा गल्तीले कतिपय कर्मचारीलाई पनि निकालिएकोले अहिले पुनः उनीहरुलाई फर्किन भनिएको हो । तर, यस विषयमा ट्विटरका आधिकारिक व्यक्तिहरुले भने कुनै जवाफ दिएका छैनन् ।
७ हजारभन्दा धेरै कर्मचारी भएको ट्विटरमा गत साता करिब आधा कर्मचारीलाई निकालिएको थियो । कम्पनीका मालिक मस्कले ट्विटर दैनिक ४ मिलियन अमेरिकी डलर नोक्सानमा चलिरहेका कारण यस्तो निर्णय लिएको बताएका थिए ।


क्लिकमान्डु