शिक्षक बन्ने सपना बोकेका रोशन, बैंक छिरेको १० वर्षमै सीईओ



काठमाडौं । पाँच वर्षअघि नेपालको बैंकिङ क्षेत्रमा एउटा नामको उदय भयो- रोशन कुमार न्यौपाने ।

बैंकिङ करियर शुरु गरेको दश वर्षमै ३८ वर्षे ठिटो एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्यो ।

कुनै पनि क्षेत्रमा अप्रत्यासित परिणाम आउँदा नपत्याउनु स्वभाविकै हो । धेरै टाढा जानु पर्दैन । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा ३२ वर्षे र्‍यापर बालेन शाहले जित्छन् भनेर कसले पत्याएको थियो र ? ‘यस्ता आउँछन् जान्छन्,’ धेरैले यस्तै भने ।

आफैं माइक बोकेर मान्छे नभएको चोकचोकमा भाषण गर्दै हिँड्ने धरानका हर्क सामपाङ धेरैका लागि ‘हावा मान्छे’ लाग्यो । तर, उनै एक्ला हर्कलाई धरानेले सुटुक्क पत्याए र बिजयी बनाए । आज उनी धरानका जनतालाई पानी खुवाउन ढुंगा बोकिरहेका छन् ।

धनगढीमा स्वतन्त्र उठेका गोपी हमाल पनि कसैका नजरमा थिएनन् । अजेन्डा बोके, विश्वास दिलाए र विजयीको माला लगाए । यी तीन स्वतन्त्र उम्मेदवारको विजयले नपत्याएको खोलाले बगाउँछ भन्ने कुरा चरितार्थ गरेको छ । जब आमजनताले कुनै व्यक्तिको खुबी चिन्छन्, त्योबेला आलोचना र अवरोध आए पनि कसैले रोक्न सक्दैनन् ।

सायद बैंकिङ क्षेत्रमा यस्तै कसैले नपत्याएको नाम थियो रोशनकुमार न्यौपाने । सबैभन्दा छिटो र सबैभन्दा कान्छो उमेरमा एक ठूलो वाणिज्य बैंकको साहयक सीईओ हुँदै सीईओमा पुग्दा बैंकिङ क्षेत्रका धेरै व्यक्तिको लागि न्यौपाने स्वतन्त्र उम्मेदवार बालेन, हर्क र गोपीजस्तै अपत्यारिला थिए ।

‘कति दिनलाई हो ? हल्ला गर्न आएको !,’ बैंकका चिनिएका व्यक्तिहरुले नै यस्तै भन्थे ।

तर, न्यौपानेले पहिलो चार वर्षे कार्यकाल सकेर दोस्रो कार्याकालको लागि पुनःनियुक्ति भइसकेका छन् । सहायक प्रमुख कार्यकारी अधिकृत, निमित्त प्रमुख कार्यकारी अधिकृत हुँर्द सीईओ बनेका न्यौपानेको नेतृत्वमा रहेको बैंकले पछिल्लो पाँच वर्षको अवधिको परिणामले मुलुकको बैंक तथा वित्तीय क्षेत्र नै अचम्मित छ ।

रणनीति बनाए, योजना बनाए, टिम परिचालन गरे, वातावरण बनाए र संस्कार विकास गरे । जसको परिणाम पाँच वर्षको अवधिमा एन आई सी एशिया बैंक मुलुकको सबैभन्दा ठूलो र सबैको रोजाइको बैंक बन्न सफल भएको छ । यसमा उनको व्यक्तित्व, बैंकिङ करियर र फराकिलो सोच जोडिएको छ ।

बैंकिङ क्षेत्रमा समकालिन बैंकरहरुमध्ये न्यौपाने दुई/तीन जना तिख्खर र प्रखर व्यक्तिमा पर्छन् । एक सफल सीईओमा स्थापित हुँदै गर्दा धेरैले उनलाई नेपालको वित्तीय क्षेत्रको उदाउँदो विज्ञ भनेका छन् ।

आखिर छोटो समयमा उनको बैंकिङ यात्राले कसरी शिखर चुम्न सफल भयो त ? बैंकिङ क्षेत्रमा समकालिन व्यक्तिमध्ये सफल बैंकर मानिने न्यौपानेका जीवनका आरोहअवरोहको भित्री कथा बाहिर आउन बाँकी नै छन् ।

आजको सफलतामा रसुवाको विकट गाउँको त्यो सानो सुन्दर घरदेखि काठमाडौंको ट्रेड टावरमा मुख्य कार्यालय रहेको एनआईसी एशिया बैंकसम्मको यात्रा जोडिएको छ । निधारमा सँधै सानो रातो टिका लगाउन मन पराउने न्यौपाने आफ्नो विगतदेखि वर्तमानसम्म सम्झन चाहन्छन् ।

रसुवाको कालिका गाउँपालिकामा जन्मेका न्यौपानेको परिवार ठूलो थियो । पाँच जना दाजुभाइ र चार बहिनी । चार दिदी बहिनीपछि पाँच दाजुभाइमध्येका चौथो नम्बरमा जन्मिए न्यौपाने । अर्थात नौ सन्तानमध्ये आठौं ।

‘बुबा सामाजिक, राजनीतिक, आर्थिकरुपले सक्रिए हुनुहुन्थ्यो,’ बाल्यकाललाई सम्झदै न्यौपाने भन्छन्, ‘पिछडिएको गरिब गाउँमा खानलगाउन पुग्ने परिवार हो हाम्रो ।’

गाउँमा लामो समय हिडेर स्कुल जानुपथ्र्यो । उनले कक्षा ५ सम्म बत्सलादेवी प्राथमिक विद्यालय पढे । त्योभन्दा माथि पढ्न श्रीकालिका हिमालय माध्यमिक विद्यालय गए । यो स्कुलमा अहिले क्याम्पससम्म पढाइ हुन्छ ।

न्यौपाने पढाइमा राम्रै विद्यार्थीमा पर्थे । त्योबेला उनले भविष्यमा शिक्षक बन्ने चाहना थियो ।

‘हामीले देख्ने सबैभन्दा ठूला व्यक्ति भनेका शिक्षक नै थिए,’ न्यौपाने भन्छन्, ‘शिक्षक नै सबैभन्दा ठूला हुन् भन्ने लाग्थ्यो ।’

२०५२ सालमा एसएलसी दिए । थप अध्ययनको लागि काठमाडौं गए । काठमाडौमा सबै कुरा नयाँ थिए । बालाजु बस्न थाले । त्योबेला एसएलसी सकेपछि ‘प्रोफिसेन्सी सर्टिफिकेट लेभल’ (पिसिएल) पढ्ने चलन थियो । के पढ्ने भन्दाभन्दै कमर्श पढ्न थाले।

पिसिएल पढ्दा पहिलो पटक चार्टर्ड अकाउन्टेन्ट (सीए) को बारेमा थाहा पाए ।

साथीहरुसँग के पढ्दा राम्रो हुन्छ भन्ने छलफल भइरहन्थ्यो । उनीहरुले सीए पढ्यो भने राम्रोहुन्छ भन्थे ।

‘पढ्न साह्रै गाह्रो छ तर पास गर्न सक्ने हो भने सबैभन्दा राम्रो पढाइ भनेको सीए हो’ साथीहरु सुनाउँथे, ‘सीए भनेको धेरै खत्रा हुन्छ रे !’

न्यौपानेलाई सीएप्रतिको मोह बढ्यो । पढ्ने रहर त थियो तर पढ्ने आँट गर्न सकेनन् । उत्तीर्ण भए त उत्तम हो तर पार लगाउन नसके त घर न घाट भइन्छ भन्ने डर भयो । भित्रैदेखि आँट गर्न सकेनन् ।

अन्तरमनको यही द्वन्द्वका बीच स्नातक तह अध्ययन गर्न शंकरदेव क्याम्पसमा भर्ना भए । स्नातक तहको पढाई उत्कृष्ट भयो । तीन वर्षको स्नातक तहको पढाइले उनलाई अर्को लेभलको आत्मविश्वास विकास गर्यो ।

त्यसपछि उनले आँट गरे सीए पढ्ने । उनी सीए गर्न इस्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्टस् अफ नेपालमा सीएमा भर्ना भए । सीए पढ्न सजिलो थिएन । पढाइ साच्चिकै गाह्रो थियो ।

न्यौपानले त्यो गाह्रोलाई सहज रुपमा लिए । कडा मेहनत गरे र उत्तीर्ण गरे ।

‘सीए पढाइ भनेको हाउगुजी छ तर त्यसलाई बुझेरमात्र पढ्नु पर्छ,’ न्यौपाने भन्छन्, ‘धेरैले परीक्षा केन्द्रित भएर पढ्छन् तर पढाइ भनेको बुझेर, विश्लेषण गरेर पढ्नु पर्छ ।’

सीए सकेपछि एक वर्ष ‘फ्रिल्यान्सर’का रुपमा काम गरे । स्वतन्त्ररुपमा बसेर काम गर्न पनि सम्पर्क र पहुँच हुनुपर्दो रहेछ । सीए पढेको मान्छे बैंकतिर जागिर भए पनि राम्रो हुन्छ भन्ने उनलाई लागिरहेको थियो ।

सन् २००८ मा बैंक अफ एसियामा जागिर खुल्यो । अन्तर्वार्ता दिए ।

‘काम गर्न सक्छौं,’ अन्तर्वार्ता लिनेले सोधे, ‘के के गर्न सक्छौं ?’

‘सीए उत्तीर्ण हुँ । बैंकको हरेक काम गर्न सक्छु,’ न्यौपानेले आत्मविश्वास सहित भने ।

भर्खर खुलेको नयाँ बैंक थियो । धेरै कुराहरु व्यवस्थापन हुँदै अघि बढिरहेको थियो । नयाँ सानो बैंक धेरैको चासो पनि थिएन ।

‘चार्टर्ड एकाउन्टेन्ट हो, अडिटको एक्सपोजर छदैछ, ब्राइट मान्छे छ । काम पक्कै राम्रो गर्छ,’ बैंकले सायद यस्तै सोच्यो । आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको रुपमा सन् २००८ अप्रिलदेखि बैंकिङ यात्रा शुरु भयो ।

२८ वर्षको ठिटो जोशजाँगरले परीपूर्ण थियो । सानैदेखि जे गरे पनि ज्यान दिएर गर्नुपर्छ भन्ने सोँच थियो न्यौपानेको ।

‘यो अवसर हो, काममा कुनै कम्प्रमाइज गर्न हुँदैन,’ उनले सोचे, ‘गरेर देखाउनु पर्छ ।’

उनको यही इच्छाशक्तिका कारण केही समयमै उनी बैंकको नजरमा परिहाले । केही समयमै उनी इन्टरनल अडिट डिपार्टमेन्ट हेड भए ।

विभाग प्रमुख नै भएपछि अझ बढी जिम्मेवारी थपियो । विभागमा उनीभन्दा माथि कोही थिएनन् । त्यो जिम्मेवारीलाई कसरी निभाउने भन्ने कताकता डर पनि थियो । नयाँ बैंकमा प्रणाली विकास गर्नु पर्ने ठूलो जिम्मेवारी पनि थियो ।

‘भैंकर मिहिनेत गरियो । उत्कृष्ट दिनुपर्छ भन्ने थियो,’ न्यौपाने सम्झन्छन्, ‘धेरैतिर सोच्नु हुँदैन, अब मेरो करियर यही हो भनेर लागेँ ।’

उनले बैंकको लागि १०१ प्रतिशत दिए । त्यसले उनको शुरुवात नै दमदार भयो । त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनको काम सधै उच्चकोटीको भयो । उनी बैंकले मन पराइएका व्यक्तिमा परे । यसले गर्दा छिटोछिटो प्रमोसन पनि भयो ।

यसैक्रमा नेपालको बैंकिङ क्षेत्रमै ऐतिहासिक निर्णय भयो । २०७० असार १६ गते न्यौपानेले काम गरिरहेको बैंक अफ एशिया नेपाल लिमिटेड र तत्कालिन नेपाल इण्डडिट्रयल एण्ड कमर्शियल बैंक लिमिटेड (एनआइसी) बीच मर्ज भयो । उक्त सफल मर्जरपछि दुई ठूला वाणिज्य बैंक मिलेर एनआइसी एशिया बैंक बन्यो ।

अडिटमा काम गरिरहेका न्यौपाने सन् २०१६ मा ‘चिफ रिक्स अफिसर’ को रुपमा ‘रिक्स डिपार्टमेन्ट’मा गए ।

‘नयाँ नीति र नयाँ थिति बसाल्ने जिम्मेवारीसहित रिक्स डिपार्टमोन्टमा गएको थिएँ,’ न्यौपाने भन्छन्, ‘रिक्समा मैले दुई वर्ष काम गरेँ ।’

दुई वाणिज्य बैंक मिलेर बनेको एनआईसी एशिया बैंक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा ठूलो र बलियो हुनुपर्ने थियो । मुलुकमै पहिलो पटक दुई ठूला वाणिज्य बैंक मिल्दा अरु कसैले नभेट्टाउनु पर्ने हो । तर, त्यसो हुन सकेन । मर्जरपछि पनि बैक ‘टप टेन’को अन्तिमतिर रहिरह्यो ।

बैंकभित्रको वातावरण सहज थिएन । सिनियर ६ जनाले स्वयेच्छिक अवकास (भीआरएस) लिएर गए । न्यौपाने सातौं स्थानमा थिए । सिनियर लगभग सबैले छाडेपछि ‘फ्लोर’ खाली जस्तै थियो । बैंक कसरी अगाडि बढ्ला भन्ने ठूलो चिन्ता थियो ।

बैंकले सीईओदेखि सिनियर पदमा नयाँ भर्ना गर्न भनेर भ्याकेन्सी खुला गर्यो तर खासै रुची देखिएन । सीईओमा पनि कोही आएनन् । सिनियर म्यानेजरमध्येबाट सातौं स्थानमा रहेका न्यौपाने सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भए ।

सहायक सीईओको रुपमा न्यौपानेले बिजनेस, अप्रेसनको, फ्रन्टलाइन म्यानेजमेन्ट सबै काम गर्न थाले । सहायक सीईओ भएको एक महिनामा गजबै राम्रो काम भयो । एनबीएसँगको द्वन्द्व पश्चात् तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले छाडेपछि न्यौपाने निमित्त सीईओ भए । निमित्त सीईओ हुँदा बैंकले उच्च प्रगति गर्यो । निमित्त सीईओ भएको ९ महिनामा न्यौपाने सीईओ भए । न्यौपाने मुलुकको एक ठूलो वाणिज्य बैंकको सीईओ नियुक्त हुँदा यस क्षेत्रमा हंगाामा जस्तै भयो ।

३८ वर्षको युवा । बैंकिङ करियर शुरु गरेको १० वर्षमात्रै भएको थियो । नेपालमा बैंकिङ क्षेत्रमा वाणिज्य बैंकको सीईओ नियुक्त गर्न व्यवस्थापनले २० वर्षको अनुभव खोज्ने चलन छ । तर, एनआईसी एशिया बैंक त्यस मामिलामा फरक देखियो । न्यौपाने मुलुककै सबैभन्दा कान्छो र बैंकिङ करियरमा सबैभन्दा छिटो सीईओ भए ।

हल्का डर थियो तर मन कमजोर बनाउने कल्पना पनि गर्न सकिदैनथ्यो । अठोट चाहिन्थ्यो । बैंकले ठूलो लगानी गरेको थियो । भिजन सेट गरेको थियो ।

‘डर चिन्ताभन्दा पनि जिम्मेवारी बढी थियो,’ न्यौपाने भन्छन्, ‘सकिएन भने त बर्वाद हुन्छ भन्ने स्पष्ट थियो । १०० प्रतिशतमा लाग्नुपर्छ भन्ने भयो ।’

सामाजिक, व्यक्तिगत जीवन, मिडिया उपस्थिति जस्ता कुनै पनि विषयमा अल्मलिनु हुँदैन भन्ने उनलाई लाग्यो । उनी आफ्नो जीवन भनेकै बैंक हो भनेर लागे । एक सेकेन्ड पनि बाहिर खर्च गर्दिन भन्ने उनले अठोट गरे । सकिन्छ र सक्नुपर्छ भन्ने उनको मनमा थियो । मुलुकको वित्तीय क्षेत्रमा एउटा ‘कोशेढुंगा’ खडा गर्नुपर्छ भनेर लागे उनी ।

बैंकमा युवाको बाहुल्यता थियो । युथ पावरले बैंक अगाडि बढाउन सकिन्छ भन्ने सोच सीईओ न्यौपानेको पनि थियो ।

‘युवाको जोशजाँगरलाई प्रयोग गर्नुपर्छ भन्नेमा म स्पष्ट थिएँ,’ न्यौपाने भन्छन्, ‘त्योबेला बैंकका कर्मचारीहरुको औषत उमेर ३० थियो ।’ सीईओदेखि सबै सबै युवा थिए ।

‘चुनौतिकाबीच बैंकलाई जसरी पनि सही बाटोमा अगाडि बढाउने मेरो अठोट थियो,’ न्यौपाने भन्छन्, ‘त्यसको लागि सतर्कतापूर्वक काम अगाडि बढाउनु पर्ने थियो ।’

बैंकलाई अगाडि बढाउन सीईओले मात्र सक्दैनन् । सीईओलाई साथ दिने सक्षम टिमको आवश्यक पर्छ । उनले एक नयाँ सक्षम टिम बनाए । त्यो टिमलाई सञ्चालन गर्न बैंकको आफ्नो कल्चर विकास गरे । डिएनए बनाए । इथोज बनाए । यसले बैंकभित्र धेरै ठूलो उत्साह ल्यायो र धेरै ठूलो संकल्प सिर्जना गर्यो ।

‘त्यही संकल्प र सपनाको शक्तिले बैंकले भयंकरै राम्रो प्रगति गर्यो,’ न्यौपाने भन्छन्, ‘जुन प्रगति कसैले पनि सोच्न सकेका थिएनन्।’

दुई बैंक मर्जरमा गएको दुई वर्षमा पनि ऋण प्रवाह ३२ अर्ब रुपैयाँ थियो । जब उनले नेतृत्व सम्हाल्न थालेको एकै वर्ष ४८ अर्ब रुपैयाँ ऋण दिन सफल भयो । ६६ अर्ब रुपैयाँले निक्षेप बढ्यो ।

त्योबेला बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै रेकर्ड तोड्दै तीन गुणा बढी प्रतिफल निकाल्दै ‘ब्याक बेन्चरबाट मेन लाइन’मा बैंक आयो । एकै वर्षमा ज्यादै राम्रो रहर लाग्दो प्रगति गर्यो बैंकले । नम्बर ६ स्थानमा रहेको बैंक एक्कासी नम्बर वानमा आयो ।

बैंकमा समस्या नआएका होइनन् । ठुल्ठुला समस्या भोग्नु पर्यो बैंकले । बैंकर्स संघसँगको द्धन्द्ध र ‘स्वीफ्ट ह्याक’ भयो । उनी निमित्त सीईओ हुँदा लक्ष्मी पुजाको दिन बैंकमाथि साइबर ह्याकरहरुले आक्रमण गर्दै ‘स्वीफ्ट ह्याकिङ’ भयो ।

न्यौपानेको काँधमा समस्या पार लगाउनु पर्ने जिम्मेवारी थियो । बैंकलाई कुनै पनि हानी नहुनेगरी न्यौपानेले टिम खटाए । अन्ततः एक ठूलो संकटबाट पार लगाए ।

न्यौपानेले बैंक सम्हालेपछि हरेक वर्ष एकपछि अर्को रेकर्ड राख्दै गयो । मुलुकका वाणिज्य बैंकहरुलाई पछि पार्दै अगाडि बढ्यो । हरेक वर्ष आफ्नै रेकर्डलाई तोड्दै मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो । जुन हरेक सरोकारवालाको रोजाइ बन्न सफल भएको छ । यो प्रगति हुनुमा न्यौपानेले तीन कुरालाई महत्पूर्ण ठान्छन् ।

पहिलो हो टिम निर्माण । जबसम्म उपयुक्त टिम निर्माण गर्न सकिदैन, कुनै पनि संस्था सही बाटोमा हिँड्न सक्दैन । यही बुझेर उनले टिम निर्माणलाई सबैभन्दा महत्वमा राखेर काम गरे । दोस्रो हो उपयुक्त वातावरण सिर्जना ।

जब राम्रो टिम निर्माण हुन्छ, त्यसबाट राम्रो प्रतिफल निकाल्न बैंकभित्र राम्रो वातावरण बनाउन आवश्यक छ । तेस्रो हो कल्चर । संस्थालाई दीर्घकालिन योजनासहित लामो बाटोमा हिडाउन संस्कार विकास अतिआवश्यक छ ।

‘उपयुक्त टिम, उपयुक्त वातावरण र राम्रो कल्चरको समायोजनपछि ट्रान्सफरमेसन हुन्छ,’ न्यौपाने भन्छन्, ‘कर्जा, निक्षेप, ग्राहक संख्या, शाखा विस्तार त बैंकमा भइरहने कुरा हो, मुख्य कुरा यी तीन विषय हुन् ।’

पाँच वर्षअघि जसरी उनी एनआईसी एशिया बैंकको सीईओ नियुक्त भएका थिए । वातावरण सहज थिएन । बैंकका सुचकांक मध्यमस्तरका थिए । अनेक चुनौतिकाबीच न्यौपानले बैंकलाई छोटा र दीर्घकालीन योजना बनाए र बैंकलाई उच्च गतिमा दौडाए।

आज एनआईसी एशिया बैंक जुन स्थानमा छ । यसमा टिम, व्यवस्थापनको जति महत्वपूर्ण भूमिका छन्, त्योभन्दा धेरै भूमिका खेलेका छन् सीईओ न्यौपानेले । यो पाँच वर्षको अवधिलाई न्यौपाने आफैले भने दुई दृष्टिकोणबाट हेर्छन् ।

‘एउटा आँखाले हेर्दा पहिला संस्था कहाँ थियो र अहिले कहाँ छ भनेर हेर्नुपर्छ,’ न्यौपानले पाँच वर्षको अवधिलाई केलाउँदै भने, ‘यस दृष्टिकोणबाट हेर्दा गर्वको महसुस हुन्छ । बैंकको निकै लोभलाग्दो प्रगति भएको छ ।’

यसअवधिमा कर्जा विस्तार, निक्षेप संकलन, खुद नाफा, प्रति शेयर आम्दानी र स्वापूँजीमा प्रतिफल, निष्कृय कर्जा, शाखा संख्या र एटिएम विस्तार, मोबाइल तथा इन्टरनेट बैंकिङ, डेबिट, क्रेडिट कार्ड तथा पिएसओ र क्युआर प्रयोगमा एनआईसी एशिया बैंकले छलाङ नै मारेको छ ।

न्यौपाने सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुँदा आव २०७३/७४ को अन्त्यमा बैंकको वासलातको आकार (ब्यालेन्स सिट साइज) मा १०औं स्थान थियो । उक्त वर्ष १०१.१९ अर्ब रुपैयाँ रहेको वासलातको आकार गत आवसम्ममा झन्डै चार गुणाले वृद्धि हुँदै ३५८.४२ अर्ब रुपैयाँ पुगेको छ । आव २०७८/७९ मा यो समग्र वाणिज्य बैंकिङ्ग क्षेत्रमा दोस्रो स्थान हो ।

आर्थिक वर्ष २०७३/७४ मा ७२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेर ९औं स्थानमा रहेको यस बैंकले आव २०७८/७९ मा ३.७२ गुणाले वृद्धि गर्दै २६८.२४ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ ।

पाँच वर्षअघि ४.२ प्रतिशत रहेको बजार हिस्सा ५२ प्रतिशतले वृद्धि हुँदै गत आर्थिक वर्षमा ६.४ प्रतिशत पुगेको छ । बैंकले ५ वर्षको अवधिमा निक्षेप संकलनमा पनि ३.४० गुणाले वृद्धि गरेको छ ।

आव २०७३/७४ मा ८६.७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ९औं स्थानमा रहेको बैंकले गत आवसम्म आइपुग्दा निक्षेपको आकार २९४.९८ अर्ब रुपैयाँ पुर्याउँदै दोस्रो स्थानमा आइपुगेको छ, जुन यस आवको प्रथम त्रैमाससम्मको नातिजामा समेत उत्कृष्ट नतिजा रहेको छ । समग्र बैंकिङ्ग क्षेत्रमा यस अवधिमा २.१७ गुणाले निक्षेप वृद्धि भएको छ ।

शाखा सञ्जाल विस्तारमा एनआईसी एशिया बैंक मुलुककै सबैभन्दा ठूलो नेटवर्क भएको बैंक हो । आव २०७३/७४ मा ११९ शाखा र ७० एटीएम रहेकोमा २०७८/७९ को अन्त्य सम्ममा आइपुग्दा ३५९ शाखा र ४७३ एटिएम पुगेका छन् ।

एनआईसी एशिया बैंक मुलुकका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै मोबाइल एप डाउनलोड भएको र सबैभन्दा धेरै डिजिटल कारोबार भएको बैंक बन्न पुगेको छ ।

बिगत पाँच वर्षको औषत वृद्धिदर ७५ प्रतिशत रहेको मोबाइल बैंकिङ आर्थिक वर्ष २०७३/७४ मा १ लाख २० हजार ५२९ बाट गत आर्थिक वर्षमा १९ लाख ७२ हजार ६३५ पुगेको छ । इन्टरनेट बैंकिङमा पनि त्यस्तै प्रगति हासिल गर्न बैंक सफल भएको छ।

पछिल्लो समय निकै प्रयोगमा आइरहेको क्युआर र पिओएसमा एन आई सी एशिया बैंकको प्रगति उत्साहजनक छ । न्यौपाने सीईओ नियुक्त हुँदै गर्दा यो प्रगतिलाई कसैले पनि सम्भव देखेका थिएनन् ।

सबैका आँखा अगाडि धेरै छोटो समयमा नसोचेको ब्यालेन्ससिट प्रकाशित भएको छ । पाँच वर्षमा भएको यही प्रगति देखेर पनि यो बैंकलाई चमत्कारिक बैंक भन्न रुचाउँछन् उनी ।

न्यौपानेले देखेको अर्को पाटो भनेको भविष्यको योजना हो । बैंकले सबै गरिसक्यो भन्ने पनि होइन । पाँच वर्षमा जेजति सम्भव थियो, त्यो सफलता हात पारिसकेको छ ।

‘हामीले गर्नुपर्ने अझ धेरै विषय छन्,’ न्यौपाने भन्छन्, ‘अबको चार पाँच वर्षमा बाँकी अधिकांस विषयलाई सम्बोधन गर्नुपर्छ ।’

नेपालको बैंकिङ क्षेत्रमा गर्नसक्ने अन्य धेरै ठाउँ देखेका छन् उनले । फेरि पनि उही टिम, वतावरण र कल्चर मिलाएर बाँकी विषयलाई प्राप्ति गर्ने न्यौपानेको योजना छ ।

सन् २०१५ देखि सन् २०२२ सम्मको यात्रामा उनले बैंकको ‘ग्रोथ इन्जिन फिक्स’ गरिसकेका छन् । अबको यात्रा यही इन्जिनलाई एक्सिलेटर दिएर स्पिड दिने उनी बताउँछन् ।

‘भविष्यलाई हेर्दा गर्न बाँकी धेरै छन् । सुस्ताउने ठाउँ छैन,’ न्यौपाने भन्छन्, ‘जुन यात्रा गरेर संस्था यहाँ आइपुग्यो यसमा सन्तोष हुन सकिने र गर्व गर्न सकिने प्रशस्त आधारहरु भने छन् ।’

दोस्रो कार्याकालको लागि तयार भइरहँदा न्यौपानेको योजना ‘भर्टिकल एक्सपान्सन’ छ । बैंक ‘एक्सिलेन्सी’को रुपमा बैंकिङ क्षेत्रमा स्थापित हुने उनको योजना छ । बैंकमा केही लगानीकर्ता भए पनि यो भनेको हरेक सरोकारवालाको संस्था हो ।

उनीहरुको विश्वास जित्नु नै बैंकको सबैभन्दा पहिलो सफलता हो । त्यसमा एनआईसी एशिया बैंकले ‘डिस्टिङसन’ ल्याइसकेको छ । ‘टेम्पो बिल्ड’ र ‘कन्भिन्सन सेट’ भइसकेको छ र अब बैंक ‘अटोपाइलट मोड’मा जाँदै छ । बैंक उकालो दौडिन तयार अवस्थामा छ ।


क्लिकमान्डु