प्रतिबद्धताअनुसार लगानी नभित्रिएपछि विदेशीलाई व्यवसायिक भिसामा कडाइ



काठमाडौं । सरकारले विदेशी व्यवसायिक भिसामा कडाइ गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतमा रहेको उद्योग विभागले प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्र्याएपछि विदेशी नागरिकलाई व्यवसायिक भिसामा कडाइ गरेको हो ।

पछिल्लो समय विदेशीहरुले व्यवसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गरेको विभागको भनाइ छ । उद्योग विभागले केही विदेशीहरुले व्यवसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गरेको पाइएको जनाएको हो ।

नेपाल सरकारले विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र त्यस्तो लगानीकर्ता वा निजको प्रतिनिधिका परिवारका सदस्यलाई विदेशी लगानी स्वीकृत भएपश्चात् लगानीको आधारमा उद्योग विभागबाट एकल बिन्दु सेवा केन्द्र (भिसा सहजीकरण इकाई) मा व्यवसायिक भिसा सिफारिस हुँदै आएको छ ।

तर, विदेशीहरुले उक्त व्यवसायिक भिसाकै लागि लगानी स्वीकृत गर्ने र सोपश्चात् कम्पनी, उद्योग तथा कर कार्यालयमा दर्तालगायतका कार्य नगर्ने र विदेशी लगानीसमेत नभित्र्याउने गरेको विभागले जनाएको छ ।

व्यवसायिक भिसा प्राप्त गरेका विदेशी नागरिकहरु भिसाको उद्देश्य विपरितका गतिविधिमा संलग्नसमेत हुन सक्ने भएकाले विदेशी लगानी र व्यवसायिक भिसा सिफारिस गर्ने कार्यलाई व्यवस्थित र मर्यादित बनाउँदै व्यवसायिक भिसालाई वास्तविक लगानीसँग आबद्ध गर्न कडाइ गरेको विभागको भनाइ छ ।

विभागका विदेशी लगानी शाखा तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले प्रतिबद्धता जनाएअनुसारको विदेशी लगानी नभित्रिएपछि व्यवसायिक भिसामा कडाइ गरिएको बताए । उनकाअनुसार लगानी प्रतिबद्धता जनाएअनुसार उद्योग क्षेत्रमा प्रगति नभएकाले विभागले व्यवसायिक भिसामा शर्तसहित कडाइ गरेको हो ।

‘विदेशी नागरिकहरुले लगानीका लागि उद्योग दर्ता गर्छन् । तर, तोकिएको समयअवधिमा उद्योग दर्तादेखि लगानी भित्र्याएको देखिँदैन । साथै, सरकारले तोकेको नियमबमोजिम लगानीको प्रगति गरेको देखिएन । त्यसैले, जिम्मेवार र तोकेबमोजिमको कार्य अगाडि बढाउन विभागले भिसामा कडाइ गरेको हो,’ उनले क्लिकमाण्डूसँग भने ।

यसअघि विभागले विदेशी लगानी प्रतिबद्धता गरेपछि एक वर्षसम्मका लागि व्यवसायिक भिसा प्रदान गर्दै आएको थियो । सो अवधिमा कम्पनी दर्ता भए/नभएको बारे जानकारी लिँदा विभिन्न कारण देखाउँदै उनीहरुले व्यवसायिक भिसा थप गर्दै आएका थिए । तर, आगामी दिनमा तोकिएको शर्त पूरा नभए भिसा थप नहुने उनको भनाइ छ ।

‘इमान्दार लगानीकर्तालाई भिसा दिन कहिले पनि समस्या हुँदैन,’ उनले भने, ‘जसले काम नगर्ने भिसामात्रै थप्ने कार्य गरिरहेका छन् । ती विदेशी नागरिकको व्यवसायिक भिसामा कडाइ गरिएको हो ।’

विभागले अबदेखि विदेशी लगानी स्वीकृत भएपश्चात् पहिलो पटक ३ महिनाको लागि व्यवसायिक भिसा सिफारिस गर्ने र अर्कोपटक आवेदन गर्दा अनिवार्य रुपमा कम्पनी दर्ता प्रमाणपत्र पेस गर्नुपर्ने शर्त राखि सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, कम्पनी दर्ताको प्रमाणपत्र पेस भएमा थप ३ महिनाको व्यवसायिक भिसा दिइनेछ । आगामी पटक आवेदन गर्दा कर कार्यालय दर्ता गरेको, बैंक खाता खोलेको र उद्योग दर्ता गरेको वा उद्योग दर्ताको लागि आवेदन दर्ता गरेको प्रगति विवरण पेस गर्ने शर्त राखि भिसा सिफारिस गर्ने निर्णय गरेको छ ।

उद्योग दर्ता प्रमाणपत्र पेस भएमा थप ६ महिनाको भिसा सिफारिस गर्ने वा उद्योग दर्ताको सम्बन्धमा भएको प्रगति विवरण सन्तोषजनक भएमा थप ३ महिनाको लागि व्यवसायिक भिसा सिफारिस गर्ने व्यवस्था सरकारले गरेको छ । सो अवधिमा उद्योग दर्ता गरे विदेशी लगानीको प्रक्रिया शुरु गर्नुपर्ने शर्त राखि भिसा सिफारिस गर्ने भएको छ ।

विदेशी लगानी स्वीकृति लिई लगानीकर्ताकै रुपमा व्यवसायिक भिसामा बसी साविकको भिसा सिफारिस गर्दाको शर्त पूरा नगरी पुनः नयाँ विदेशी लगानी स्वीकृतिको लागि आवेदन गरेमा निजको विदेशी लगानी स्वीकृत गरिनेछ । तर, प्रस्तावित विदेशी लगानी नभित्र्याएसम्म स्वीकृत नयाँ विदेशी लगानीको आधारमा पुनः व्यवसायिक भिसा सिफारिस नगरिने विभागले निर्णय गरेको छ ।

त्यसपछिको हकमा विदेशी लगानी तथा हस्तान्तरण नियमावली, २०७७ को नियम ९ बमोजिमको लगानी भित्र्याएपछि मात्र थप व्यवसायकि भिसा दिनेछ ।

साथै, यसअघि व्यवसायिक भिसा लिई भिसाको अवधि थप गर्नका लागि आवेदन गर्नेहरुको हकमासमेत तोकेको प्रावधानअनुसारका शर्तहरु राखि सामञ्जस्यता कायम गरिने विभागले जनाएको छ ।


क्लिकमान्डु