‘चर्को ब्याजदरको पीडा थेग्न नसकेपछि सडक आन्दोलनमा उत्रिन बाध्य भएका हौं’



काठमाडौंं । आज आन्दोलन उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको उद्योग वाणिज्य महासंघको संयुक्त आह्वानमा शुरु भएको हो । देशभरमा व्यवसायीहरु एकदमै प्रताणित छन् । पछिल्लोपटक जुन किसिमले बैंकको ब्याजदर बढिरहेको छ, त्यो धान्नै नसक्ने अवस्थामा व्यवसाय पुगिरहेको छ ।

पहिले पहिले उच्चतम एकल बिन्दुमा रहेको ब्याजदर अहिले दोहोरो अंक हुँदै अगाडि गइरहेको छ । अहिले १५/१६ प्रतिशतको पनि कुरा आइरहेको छ । अहिले जुन किसिमले ब्याजदर बढिरहेको छ, व्यवसायले त्यसलाई धान्नै सक्दैन । अब प्रश्न आउला, ब्याजदर घट्ने र बढ्ने हुन्छ भनेर ।

धेरै अघिको कुरा गर्ने हो भने हाम्रोमा खुलाबजार अर्थतन्त्र थिएन । अहिले खुलाबजार अर्थतन्त्र छ । खुला सीमाना छ । अहिले सरकार आफैंले पनि देशमा अनधिकृत अर्थतन्त्र मौलाइरहेको भनिरहेको छ ।

अब अनधिकृत अर्थतन्त्रसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ । तर, यस्तोमा जुन किसिमले ब्याजदर बढेको छ, व्यवसायले धान्नै सक्दैन । हाम्रो अर्थतन्त्र खुला बजार अर्थतन्त्र हो । भारत, चीनलगायतबाट वस्तु आउँछ । हाम्रोमै वस्तु बनाएर यो सँग प्रतिस्पर्धा गर्नै सकिँदैन ।

भनिन्छ, उपभोक्तालाई ब्याजदर ‘पास-अन’ गर्दै लैजाने हो पनि भनिन्छ । तर, ‘पास-अन’ गर्दै जानका लागि पनि यो बेच्न सक्ने त हुन पर्‍यो । प्रतिस्पर्धी पनि हुनै पर्‍यो ।

उपभोक्ताले जहाँ सस्तो छ, त्यहाँ वस्तु लिन्छ ।

प्रतिस्पर्धी बजार भएकाले अहिले जुन किसिमले ब्याजदर बढिरहेको छ, त्यो धान्न सक्दैन ।

यो ब्याजदर घटाउने पक्षमा सरकारले निर्णय लिनुपर्छ भन्ने तमाम व्यावसायीहरुको माग छ । त्यसको सम्बोधन हुन्छ भन्ने लाग्छ । सरकार वा निगरानी गर्ने निकायले हाम्रो बाह्य समस्याका कारण आयात बढी भयो र निरुत्साहित गर्न ब्याजदर बढाएको भन्ने कुरा भोलि परिस्थितिमा ठिक थियो वा थिएन भन्ने प्रश्न निश्चय नै हुन्छ । त्यसको जवाफ पनि आउला ।

तर, आजको परिस्थितिमा ब्याजदर बढाएर र मूल्य बढाएर जुन किसिमले समाधान खोजिएको छ, त्यो समाधान होइन । त्यसकारण ब्याजदर घटाउनुपर्छ ।

मूल्य वृद्धिको मार जनतामा परेको छ । आयात घटिरहँदा त्यसको मार सरकारमाथि राजस्वमार्फत पनि परिरहेको छ । व्यवसायी मात्रै मारमा छैनन् ।

तलब थाप्ने कर्मचारी पनि पीडित छन् । बैंकमा लोन लिएर सामान लिएको छ भने हिँजो तिरेकोभन्दा आज बढी किस्ता तिर्नु परेको छ । उपभोग्य वस्तु सबै महँगो भएको छ ।

यस्तो बेलामा विश्वमा कुनै पनि राज्यले अर्थतन्त्रलाई कसरी सुधार्ने ? कसरी गति दिने ? भन्ने बारेमा सोच्छ । तर, हाम्रो देशमा अर्थतन्त्र संकुचन बनाउन खोजिएको छ ।

यो किन गरियो हामीले बुझ्न सकेका छैनौं ।

हामी उद्योग वाणिज्य महासंघ अहिले पनि सरकारसँग छलफलमै छौं । तिहारअघि पनि हामी अर्थमन्त्री, गर्भनरसँगै छलफलमा बसेका हौं । अहिले पनि हामी छलफलमै छौं । छलफलबाटै समाधान पनि खोजिरहेका छौं ।

तर, परिस्थिति नियन्त्रणभन्दा बाहिर गएको अवस्था छ । हाम्रा जिल्लास्थित व्यवसायीहरु सडकमा आएको परिस्थिति छ । सडकले उद्येलित होला, त्यो भोलिको कुरा हो । आज भन्न सकिँदैन ।

सडकको आन्दोलन गरेर समाधान हुन्छ कि हुँदैन भन्न सकिँदैन । तर, हामीसँग कुनै विकल्प छैन । व्यवसायीहरुसँग विकल्प नभएका कारण हामी सडकमा आएका छौं ।

सरकार, सम्बन्धित निकाय, अनुगमन वा नियन्त्रण गर्ने निकाय, नीति बनाउने निकायलगायतले समयमै सोचेर व्यवसायीहरुले धान्नै नसक्ने ब्याजदर भएको अवस्थाबारे सोच्नुपर्छ ।

असारको बैंकहरुको मुद्दती कम भएको छ । असोजमा झन् कम भएको भन्ने कुरा छ । यस्तै भएमा पुसमा झन् कम हुन्छ ।

यो परिस्थितिको समाधान गर्नुपर्छ । भोलि व्यवसाय बिग्रियो भने बैंक पनि बिग्रन्छ । सबै व्यवसायीहरु तिर्न नसक्ने अवस्थामा पुगेको अवस्था छ । यो परिस्थितिको समाधान तत्कालै सरकारले निकाल्नु पर्छ ।

भनिन्छ, सरकारले सडकको भाषा मात्रै बुझ्छ । त्यसकारण पनि व्यवसायीहरु सडकमा आएका छन् । यो चरणबद्ध आन्दोलनको शुरुवात हो । आज माइतीघरमा उपस्थित भएर बिरोधको सांकेतिक शुरुवात गरेका हौं । भोलि चरणबद्ध रुपमा आन्दोलन हुन्छ ।

ब्याजदर सस्तो भएको अवस्थामा व्यवसायीले घर, सेयरजस्ता कुरामा लगानी गरेको भन्ने कुरा आउँछ । व्यवसायीले धेरै ठाउँमा लगानी गर्छ । हाम्रो वयावसायहरु सानो आकारमा भएको बजार छ । यस्तोमा व्यवसायीहरुले आफ्नो वृद्धिका लागि फरक फरक ठाउँमा लगानी गर्छ । केही विकृति पनि भएका होलान् । विकृति भयो भन्दैमा एकै चोटी बन्द गर्ने होइन ।

एकै चोटी बन्द गरेर समाधान खोज्ने होइन । यसमा सरकारले क्रमबद्ध रुपमा समाधान खोज्नुपर्छ ।

यहीबेला चालु पुँजी कर्जा मार्गनिर्देशन आएको छ । यसले पनि व्यवसायीहरुलाई नियन्त्रण गर्न खोजेको भन्ने कुरा आएको छ । यस्तोमा समाधान कसरी गर्ने भन्ने कुरामा अध्ययन गर्ने राष्ट्र बैंकले भन्ने आश्वासन दिएको छ । तर, अहिलेको अवस्थामा व्यवसायीहरु त्रसित भएको अवस्था छ । गल्ती छन् भने त्यसलाई क्रमबद्धरुपमा सुधार्दै लैजाने हो । गल्तीलाई डन्डा हानेरै मात्र जानुपर्छ भन्ने होइन ।

(नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष श्रेष्ठले शुक्रबार काठमाडौं उद्योग वाणिज्य संघ र ललितपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाविरुद्ध गरेको सडक आन्दोलनमा सहभागी हुनेक्रममा व्यक्त गरेको विचार)


क्लिकमान्डु