सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश



काठमाडौं । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

शुक्रबार थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

लामिछानेविरुद्ध थुनछेक बहस बुधबारदेखि प्रारम्भ भएको थियो । बिहीबार लामिछानेको तर्फबाट बहस भएको थियो भने शुक्रबार सरकारी वकिलले जवाफी बहस गरेका थिए ।

सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।

संहिताको दफा २१९ को उपदफा (३) देहाय (घ)मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् ।

लामिछानेविरुद्ध नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो ।


क्लिकमान्डु