आजदेखि इमेल पठाएर कर्मचारी कटौती गर्दै ट्विटर



एजेन्सी । माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरको स्वमित्व लिएसँगै एलन मस्कले आजबाट कम्पनीमा कार्यरत कर्मचारीहरुलाई निकाल्ने भएका छन् । कम्पनीले शुक्रबारबाट कर्मचारीहरुलाई इमेलमार्फत निकाल्ने जानकारी पठाउन लागेको हो ।

समाचार संस्था रोयटर्सकाअनुसार कम्पनीले आफ्ना कर्मचारीहरुलाई बर्खास्त गर्ने इमेल गर्दै विभिन्न ठाउँमा रहेका आफ्ना कार्यालयहरुलाई अस्थायी रुपमा बन्द गर्ने जनाएको छ ।

रोयटर्सले ट्विटरमा कार्यरत कर्मचारीलाई पठाएको इमेल उदृत गर्दै लेखेको छ, ‘यो सामाजिक सञ्जालको कम्पनीले कर्मचारीलाई कामदार कटौती हुने बारे शुक्रबार ९ बजे (अमेरिकी समय)मा इमेल पठाउने छ ।’

कम्पनीले ट्विटरलाई पुनः संरचना गर्न तथा यसमा रहेका विश्वभरका कामदारहरुमा छाटकाँट गर्नका लागि यस्तो कदम चाल्न लागेको हो ।

ट्विटरका अनुसार कार्यालयहरुलाई अस्थायी रुपमा बन्द गरेर हरेक कर्मचारी तथा प्रयोगकर्ताहरुको डेटालाई सुरक्षित गर्ने काम गरिनेछ ।

कम्पनीले काम गर्न पाउने कर्मचारीलाई कम्पनीको इमेलमा र जागिर छाड्नु पर्ने कर्मचारीहरुलाई निजी इमेलमा सन्देश पठाउने बताइएको छ ।

हाल ट्विटरमा ७ हजार ५ सय कर्मचारी रहेका छन् ।


क्लिकमान्डु