सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, अब के हुन्छ ?



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि बुधबार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

आजको बहसमासन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका थिए ।

जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेविरुद्ध परेको मुद्दामा मंगलबार बयान लिएको थियो । बयान सकिएसँगै आज थुनछेक बहस भएको थियो तर नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा पर्दै अर्को दिनका लागि सुनुवाइ हुने भएको हो ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछाने विरुद्ध बहस भएको हो ।

बहसपछि सन्दीपलाई थुनामा राखेर बाँकी मुद्दाको सुनुवाइ अघि बढाउने कि थुनामुक्त गरेर भन्नेबारे इजलासले आदेश दिने छ ।

लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।

प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् ।

लामिछानेविरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।


क्लिकमान्डु