स्यानिटरी प्याड खरिदका लागि वार्षिक १५ सय दिने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले महिलाहरुलाई स्यानिटरी प्याड खरिदका लागि वार्षिक १५ सय रुपैयाँ दिने घोषणा गरेको छ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि एमालले आज संकल्पपत्र सार्वजनिक गर्दै महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदको लागि वार्षिक १ हजार ५ सय उपलब्ध गराउने घोषणा गरेको हो ।

त्यसैगरी, सुरु गरेको जिल्ला अस्पताललाई २५ देखि ५० शैय्याको अस्पताल,तत्कालीन अञ्चल अस्पताललाई २०० शैय्याको जनरल अस्पताल र केन्द्रीय अस्पताललाई ५०० शैय्याको विशेषज्ञ अस्पतालमा स्तरोन्नति गर्ने कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

काठमाडौँ उपत्यकामा ३०० शैय्या र सातै प्रदेशमा ५० शैय्याको सरूवा रोग अस्पताल निर्माण सम्पन्न गर्ने, जटिल र घातक प्रकृतिका रोगहरूको उपचारका लागि अन्तर्राष्ट्रियस्तरको उपचार सेवा स्वदेशमै सुनिश्चित गर्न विशिष्टीकृ त अत्याधुनिक उपचार सेवा उपलब्ध गराउने अस्पतालहरूको निर्माण सम्पन्न गर्ने र अधिकार सम्पन्न ‘राष्ट्रिय प्रत्यायन प्राधिकरण’ (नेशनल एक्रिडेशन अथोरिटी) बनाई स्वास्थ्य सेवाको नियमन गर्ने जनाएको छ ।

साथै, ६० बर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परिक्षण तथा औषधि उपलब्ध गराउने र कडा, असाध्य रोगहरूको उपचार निःशुल्क गर्ने प्रतिबद्धता जनाएको छ ।


क्लिकमान्डु