निर्वाचनका लागि भारतले नेपाललाई दियो २०० गाडी



काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रयोग गर्न भारतले नेपाललाई २ सय सवारीसाधान उपहारस्वरुप प्रदान गरेको छ ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारत सरकारले उपहारस्वरुप २ सय सवारीसाधन प्रदान गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहारस्वरुप सवारीसाधन ग्रहण गरेका थिए ।

सवारी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले निर्वाचनमा प्रयोग गर्नेगरी भारत सरकारले नेपाल सरकारलाई सहयोग स्वरुप २ सय वटा सवारी साधन दिएको बताए ।

उनले २ सय सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगको प्रयोगका लागि दिएको जानकारी दिए । भारत सरकारले नेपालमा हुने हरेक निर्वाचनमा सवारी साधन सहयोग गर्दै आएको भन्दै उनले अहिलेसम्म २४ सयभन्दा बढी सवारी साधन सहयोग गरेको बताए ।

राजदूत श्रीवास्तवले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २ हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४ सय वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४ सय भन्दा बढी सवारीसाधन उपहार दिएको बताए ।

कार्यक्रममा अर्थमन्त्री शर्माले निर्वाचनको लागि सवारीसाधन सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए ।


क्लिकमान्डु