माओवादी घोषणापत्र: हरेक पालिकामा डाक्टर र नर्स पढ्न छात्रवृत्ति



काठमाडौं । नेकपा माओवादी केन्द्रले हरेक स्थानीय तहमा डाक्टर र नर्स उत्पादन गर्न छात्रवृत्ति दिने घोषणा गरेको छ ।

सोमबार आगामी निर्वाचनका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्दै माओवादीले डाक्टरी वा नर्सको पढाइ सकिएपछि आफ्नै पालिकामा काम गर्ने सर्तमा यस्तो छात्रवृत्ति दिने जनाएको छ ।

‘पढाइ सकेपछि आफ्नो पालिकामा सेवा गर्नुपर्ने सर्तमा हरेक पालिकाबाट प्रत्येक वर्ष कम्तीमा एक डाक्टर, एक स्टाफ नर्स पढ्न सरकारले छात्रवृत्तिको व्यवस्था गर्नेछ । डाक्टर तथा नर्सलाई सरकारी सेवामा आकर्षित गर्न सेवा सुविधामा वृद्धि गरिने छ’ माओवादी घोषणापत्रमा भनिएको छ, ‘साप्ताहिक ४० घन्टाभन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गरिने छ । आम नागरिकमा चिकित्सा सेवा पुर्‍याउन डाक्टरहरूको संख्या बढाइने छ ।’

हरेक पालिकामा योग, ध्यान र शारिरीक व्यायाम गर्ने परिपाटीको विकास गरिने माओवादीको प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु