माओवादी घोषणापत्र: पर्यटकीय गतिविधिमा लगानी गर्ने व्यवसायीलाई कर छुट दिने



काठमाडौं । नेकपा माओवादी केन्द्रले पर्यटकीय गतिविधिमा लगानी गर्न चाहने व्यवसायीलाई कर छुट दिने प्रतिवद्धता जनाएको छ ।

मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सोमबार प्रतिवद्धतापत्र सार्वजनिक गर्दै सत्तारुढ माओवादी केन्द्रले पर्यटन प्रवर्धन र विकासमा जोड दिइने उल्लेख गरेको छ ।

माओवादीले दुर्गम पहाड, जंगल र नदी वरपर पर्यटकीय गतिविधिमा लगानी गर्न चाहने व्यवसायीहरूलाई निश्चित अवधिसम्म करमा छुट दिने प्रतिवद्धता जनाएको छ । साथै, अत्यावश्यक भौतिक पूर्वाधार, विद्युत, पानी र सुरक्षाको प्रबन्ध गरिने जनाएको छ ।

उपयुक्त स्थानमा हिमालयन डिज्नेल्यान्ड वा सोही प्रकारको मेगा–थिमपार्क निर्माण गर्नको लागि सम्बन्धित विदेशी कम्पनीहरूसँग सहकार्य गरिने माओवादीको घोषणापत्रमा उल्लेख गरिएको छ । ‘प्रदेश सरकारसँगको सहकारितामा हरेक प्रदेशमा एक सुविधासम्पन्न थिमपार्क निर्माण गरिने छ’ पत्रमा भनिएको छ ।

कोभिड महामारी लगायतका प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्षलाई थप परिस्कृत र विकास गरी नेपाल भ्रमण वर्ष घोषणा गरिने र उक्त कार्यक्रममार्फत् ३० लाख विदेशी पर्यटकहरू भित्रने आधार तयार गरिने माओवादीले जनाएको छ ।

नेपालका पर्यटकीय गन्तव्यहरूको विश्वव्यापी प्रचार–प्रसार र बजारीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गरिने र नेपालका विदेशस्थित नियोगहरूलाई वार्षिक लक्ष्य तोकी पर्यटन प्रवर्धनमा परिचालित गरिने प्रतिवद्धतापत्रमा जनाइएको छ ।

माओवादीले भारतको राम जन्मभूमि र नेपालको जनकपुर, पशुपतिनाथ, स्वर्गद्वारी र हलेसीको हिन्दु सर्किटको भौतिक विकास र सुधार गरी विश्वभरिका हिन्दुहरूको धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने उल्लेख गरेको छ ।

नेपालको बुद्ध जन्मभूमि लुम्बिनीदेखि बुद्धको ज्ञानप्राप्ति भएको भारतको बोधगया र महापरिनिर्वाण भएका स्थानहरू जोड्ने बौद्ध सर्किटको प्रवद्र्धन गर्नुका साथै लुम्बिनीदेखि काठमाडौँको फर्पिङ पद्मसम्भव गुफा, स्वयम्भू, बौद्ध र नमोबुद्ध जोड्ने बौद्ध सर्किटको विकास गरी विश्वभरिका बौद्धहरूको धामिर्क पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गरिने जनाएको छ ।

हरेक वर्ष बुद्धजयन्तीको दिन अन्तर्राष्ट्रिय बुद्ध महोत्सव आयोजना गरिने र लुम्बिनीमा बुद्धमार्गीहरूको लागि अत्याधुनिक बर्थिब सेन्टर स्थापना गरिने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु