आत्मनिर्भर अर्थतन्त्रमा जोड दिँदै एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो घोषणापत्र



काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि एकीकृत समाजवादीले सोमबार घोषणा पत्र सार्वजनिक गरेको हो ।

काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

एकीकृत समाजवादीले आर्थिक-सामाजिक रूपान्तरण सहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र तयार पारेको छ ।

‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार ,आर्थिक सामाजिक रूपान्तरण समृद्दि समाजवादको आधार’ भन्ने नारा सहित घोषणापत्र सार्वजनिक भएको हो ।

घोषणापत्रमा जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको छ भने उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ ।

विकासका लागि भौतिक पूर्वाधारमा लगानी गने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ । खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा जोड दिइएको छ ।

राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शिता सहितका विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।

सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ ।

पिछडिएको क्षेत्र र समुदायका हितमा कार्य गर्ने, मिटरव्याजी लगायत सबै खाले शोषण तथा उत्पिडनको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको भुसालले बताए ।


क्लिकमान्डु