सन्दीपविरूद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै, १२ वर्षसम्म कैद र क्षतिपूर्ति मागको तयारी



काठमाडौं । नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरूद्ध मुद्दा दायरको तयारी गरिएको छ ।

सरकारी वकिलको कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ताको तयारी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले अनुसन्धान सकेर कात्तिक ४ गते सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर लगत्तै तिहार सुरु भएकाले मुद्दा दर्ता हुन सकेको थिएन ।

तिहार र छठ सकिएसँगै आजबाट अदालतल खुल्ने भएसँगै मुद्दा दर्ताको तयारी गरिएको हो । लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग दाबी गरिएको जनाइएको छ ।

त्यस्तै पीडितलाई क्षतिपूर्तिको मागदाबीसमेत गरिएको छ । प्रहरीले लामिछानेविरूद्ध होटलका सीसीटीभी फुटेज, पीडितको बयान र अस्पतालको रिपोर्टहरुलाई प्रमाणको रुपमा पेस गरेको छ ।

भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लामिछानेमाथि लागेको थियो ।आरोप लागेको भोलिपल्टै क्रिकेट खेल्न गएका उनी गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।


क्लिकमान्डु