विनोद चौधरीले व्यवसायीलाई घरमा बोलाएर भने, ‘तन र मनले सहयोग गर्नुस्, धनले पर्दैन’



काठमाडौं । डलर अर्बपति विनोद चौधरीले आगामी निर्वाचनमा सहयोग गर्न उद्योगी व्यवसायीसँग आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका चौधरीले दीपावलीको अवसरमा उद्योगी व्यवसायीलाई घरमा बोलाएर निर्वाचनमा सहयोग मागेका हुन् ।

गत असोज २३ गते प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएपछि नवलपरासी पश्चिममा रहेका चौधरी लक्ष्मी पुजा गर्न काठमाडौं आएका थिए ।

सोही अवसरमा चौधरीले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ आवद्ध ठूला उद्योगी व्यवसायीलाई बोलाएर प्रतिनिधिसभाको निर्वाचनमा सहयोग मागेका हुन् ।

‘निर्वाचनमा तन, मन र धनले सहयोग गर्नु पर्छ भन्छन्,’ चौधरीले व्यवसायीलाई भने,‘ अहिले मलाई धनले सहयोग गर्नु पर्दैन । तर, तपाईंहरु सबैबाट तन र मनले सहयोगको अपेक्षा गरेको छु ।’

चौधरीले बाहिर बसेर राजनीति गर्दा अपेक्षाअनुसार नीतिगत सुधार गर्न नसकेकाले प्रत्यक्ष निर्वाचन लड्न लागेको बताए ।

‘दुईपटक समानुपातिक सांसद् हुँदा पनि अपेक्षा अनुसार सुधार हुन गर्न सकिएन,’ चौधरीले भने,‘प्रत्यक्ष निर्वाचित भएर आउँदा नीतिगत सुधार गर्न सकिन्छ भन्ने विश्वास छ । तपाईंहरुले तन र मनले सहयोग गर्नु भयो भने निर्वाचनमा मेरो जित सुनिश्चित छ ।’

नवलपरासीको क्षेत्र नम्बर १ मा चौधरीको जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसँग प्रतिस्पर्धा हुन लागेको छ ।

त्रिपाठीलाई नेकपा एमालेले समेत समर्थन गरेको छ । २०७४ सालको निर्वाचनमा पनि त्रिपाठी एमालेको सहयोगमा निर्वाचित भएका थिए।

नवलपरासीको क्षेत्र नम्बर एकमा सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका गरी तीन स्थानीय तह पर्छन् । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा तीनैवटा स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको थियो ।

चौधरीलाई गठबन्धको पनि साथ रहेकोले त्रिपाठीसँगको प्रतिस्पर्धा रोचक हुने सम्भावना छ ।


क्लिकमान्डु