दक्षिण कोरियामा १५१ जनाको मृत्यु: के हो हेलोविन पार्टी ?



काठमाडौं । दक्षिण कोरियाको राजधानी सोलमा हेलोइन पार्टीमा भागदौड हुँदा कम्तिमा १५१ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा ८३ जना घाइते भएको बीबीसीले जनाएको छ ।

घाइतेहरुको अस्पतालमा उपचार भइरहको छ । दर्जनौं मानिसलाई हर्टअट्याक आएको जनाइएको छ । शनिबार मध्यराति भएको हेलोइन पार्टीमा भागदौड हुँदा घटना भएको हो ।

राष्ट्रपति यून सुक-योलले योंगसान-गुमा आपतकालीन टीमलाई तत्काल तैनाथ गर्न आदेश दिएका थिए ।

सामाजिक सञ्जालहरुमा देखिएको भिडियोहरुमा मानिसहरु सडकमा लडिरहेको र छटपटाइरहेको देखिएको छ ।

आपतकालीन उद्धार दलले जनाएअनुसार मृतकमध्ये १९ जना विदेशी रहेका छन् ।

सरकारी अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । १ लाख भन्दा धेरै मानिस सहभागी हेलोइन पार्टीमा भागदौड भएको थियो ।

के हो हेलोइन पार्टी ?
पश्चिमा देशमा हेलोविन पार्टी मनाइने गरिएको छ । यो पर्व पूर्वजहरुको आत्माको शान्तिका लागि मनाइने गरिएको छ । यस दिन मानिसहरु डरलाग्दो मेकअप र पहिरन लगाउने गर्छन् ।

हेलोइन प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने विशेष पर्व हो । साहेनको पुरानो सेल्टिकबाट यसको सुरुवात भएको थियो । नोभेम्बर १ लाई सन्तहरुको सम्मान गर्ने समयको रुपमा आठौं शताब्दीमा पोप ग्रेगरीले तोकेका थिए । त्यसपछि यसको सुरुवात भएको मानिन्छ ।

नोभेम्बर १ को अघिल्लो साँझलाई हेलोइन इभको रुपमा मनाइने गरिएको छ ।

यस दिनलाई गर्मीको अन्त्यको उत्पादनहरु काट्ने, अध्यारो, जाडोको सुरुवातको रुपमा मनाइने गरिएको छ ।
यस दिन मृतकको आत्मा पृथ्वीमा फर्कने विश्वास गरिन्छ ।

सेल्टिकहरुबीच यो नयाँ वर्षको सुरुवातको रुपमा मनाइने गरिएको छ । हेलोविन अमेरिका इंग्ल्याण्ड र युरोपेली देशमा मनाइन्छ । यसको सुरुआत आयरल्याण्ड र स्कटल्याण्डबाट भएको थियो ।


क्लिकमान्डु