दक्षिण कोरियामा १ लाख बढी भेला भएको हेलोइन पार्टीमा भागदौड, १५१ जनाको मृत्यु



काठमाडौं । दक्षिण कोरियाको राजधानी सोलमा हेलोइन पार्टीमा भागदौड हुँदा कम्तिमा १५१ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा ८३ जना घाइते भएको बीबीसीले जनाएको छ ।

घाइतेहरुको अस्पतालमा उपचार भइरहको छ । दर्जनौं मानिसलाई हर्टअट्याक आएको जनाइएको छ । शनिबार मध्यराति भएको हेलोइन पार्टीमा भागदौड हुँदा घटना भएको हो ।

राष्ट्रपति यून सुक-योलले योंगसान-गुमा आपतकालीन टीमलाई तत्काल तैनाथ गर्न आदेश दिएका थिए । सामाजिक सञ्जालहरुमा देखिएको भिडियोहरुमा मानिसहरु सडकमा लडिरहेको र छटपटाइरहेको देखिएको छ ।

आपतकालीन उद्धार दलले जनाएअनुसार मृतकमध्ये १९ जना विदेशी रहेका छन् । सरकारी अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । १ लाख भन्दा धेरै मानिस सहभागी हेलोइन पार्टीमा भागदौड भएको थियो ।


क्लिकमान्डु