महाराजगञ्जमा बन्दै गरेको कर्मा रेसिडेन्सले पायो ३ अर्बको रेटिङ, २५ प्रतिशत निर्माण कार्य सम्पन्न



काठमाडौं । गुड कर्मा ग्रुप अफ कम्पनी प्रालिले महाराजगञ्जमा बन्दै गरेको ‘कर्मा रेसिडेन्स’ का लागि ३ अर्बको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्बको रेटिङ गराएको हो ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब अर्थात् बी र अल्पकालीन कर्जाका लागि १ अर्ब अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले गत साउन २ गते कार्यक्रम गर्दै रेसिडेन्सको बुकिङ खुला गरेको थियो । कम्पनीले सुरक्षित र सुविधा सम्पन्न सेवा उपलब्ध गराउन तीन वटा बिल्डिङमा अपार्टमेन्ट निर्माण भएको छ ।

प्रत्येक भवनमा २ तला बेसमेन्ट पार्किङ हुनेछ भने १२ तलामा अपार्टमेन्ट र ए तलामा अन्य सुविधागरी १५ तलाको अपार्टमेन्ट निर्माण गर्नेछ । भवनमा १६२ युनिटको अपर्टमेन्टहरु निर्माण हुनेछ ।

कम्पनीअनुसार सन् २०२२ को अप्रिलसम्ममा २५ प्रतिशत भौतिक कार्य सम्पन्न गरेको जनाएको छ । गत साउनमा बुकिङ खुला गरेको कम्पनीले एक महिनाको अवधिमा ४ करोड ७० लाख रुपैयाँको अपार्टमेन्ट बुकिङ भएको जनाएको छ ।

पछिल्लो समय शहरी क्षेत्रमा विभिन्न सुविधासहितको अपार्टमेन्टको बढ्दो माग छ । त्यसैले, सबैलाई पायक पर्ने स्थानमा अपार्टमेन्ट निर्माण गरिएको कम्पनीको भनाइ छ ।

कम्पनील ४ अर्ब ७९ करोड ९० लाख रुपैयाँमा अपार्टमेन्ट निर्माण आयोजना सम्पन्न गर्ने जनाएको छ । जसमा अपार्टमेन्टमा ६० प्रतिशत बैंकिङ कर्जा र बाँकी ४० प्रतिशत भने इक्विटीमा हुने कम्पनीको भनाइ छ ।

निर्माण भइरहेको अपार्टमेन्ट २.५ बीएचके र ३.५ बीएचकेको बन्नेछ । कम्पनीअनुसार सो अपार्टमेन्ट आर्थिक वर्ष २०२५/२६ बाट व्यवसायिक रुपमा सञ्चालन हुनेछ ।

निर्माणको जिम्मेवारी लिएका ए वान बिल्डर्सले पाएको छ । करिब १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेन्टमा भवनले मात्रै ६ रोपनी मात्रै जग्गा ओट्नेछ ।

नियमअनुसार ४० प्रतिशत अतिरिक्त, जग्गा हुनुपर्नेमा यो भवनले ४२ प्रतिशत अतिरिक्त जग्गा छाड्नेछ । जहाँ पार्कदेखि कम्युनिटी हलसम्मका भवनहरु निर्माण हुनेछन् ।

कर्मा रेसिडेन्समा प्राइभेट गार्डेनको समेत सुविधा उपलब्ध हुनेछ । अन्य सुविधामा हरेक समयमा हट वाटर, निरन्तर विद्युतको सुविधा, २४० भन्दा बढी सवारी साधन पार्किङ स्पेस, हाइस्पिड इलेभेटरलगायतका सुविधा रहनेछन् ।

त्यति मात्रै होइन, स्वीमिङ पुल, जीम र साउना, जगिङ ट्रयाक, मेडिटेसन योगा डेक, बालबालिकाका लागि खेल्ने क्षेत्र, मन्दिरलगायतका सुविधा पनि हुनेछन् ।


क्लिकमान्डु