असोजमा ८३ प्रतिशतले घट्यो जग्गा कित्ताकाट, सबैभन्दा बढी खण्डीकरण नेपालगञ्जमा



काठमाडौं । असोजमा देशभरको कित्ताकाट ८३ प्रतिशतले घटेको छ । गत वर्षको असोज महिनाको तुलनामा यो वर्षको सोही अवधिमा देशभर हुने कित्ताकाटमा ८३ प्रतिशतले कमी आएको हो ।

गत वर्षको असोज महिनामा देशभरको मालपोत कार्यालयबाट ५५ हजार ४६३ वटा जग्गा कित्ताकाट भई १ लाख २७ हजार ८०३ कित्ता कायम भएको थियो ।

यो वर्षको सोही अवधिमा देशभरका मालपोत कार्यालयबाट ९ हजार ४२६ जगग कित्ताकाट भई १९ हजार १७८ कित्ता कायम भएको भूमि, व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

सरकारले गत जेठमा भूउपयोग नियामवली जारी गरेर कित्ताकाट गरेसँगै देशभर जग्गाको कारोबार प्रभावित भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभर कृषियोग्य जमिन उच्च कित्ताकाट भएको भन्दै कडाइ गरेको जनाएको छ । सरकारले कित्ताकाट गरेसँगै जग्गा कारोबारमा उच्च गिरावट आएको हो ।

मासिक ७० हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदै आएकोमा अहिले ३० हजारको हाराहारीमा सीमित भएको विभागको तथ्याङ्क छ ।

सरकारले अगामी मंसिरसम्म २३ गतेसम्ममा देशभरको जग्गा कृषि र गैह्रकृषि क्षेत्रमा छुट्याउन निर्देशन दिएको छ । सरकारले कित्ताकाटमा कडाइ गरेसँगै देशभरको कारोबार प्रभावित भएको विभागका निर्देशक तथा प्रवक्ता कृष्ण प्रसाद भण्डारी बताउँछन् ।

उनकाअनुसार विगतको जस्तो जग्गा किनबेच हुन सकेको छैन । असोज महिनामा देशभरको मालपोत कार्यालयबाट ९ हजार बढी जग्गा कित्ताकाट हुँदा सबैभन्दा बढी नेपालगञ्ज मालपोत कार्यालयबाट भएको छ ।

नेपालगञ्जबाट असोजमा ११ सय ६३ जग्गाको कित्ताकाट भई ३ हजार ११५ कित्ता कायम भएको छ । त्यसपछि धनगढी मालपोत कार्यालयबाट ८१५ जग्गा कित्ताकाट भई १४ सय ९५ कित्ता कायम भएको छ ।

कलंकीबाट ५७१ जग्गा कित्ताकाट भई १७ सय ६८ जग्गा कायम भएको छ । त्यसैगरी, तुलसीपुर दाङबाट ५५७ जग्गाको कित्ताकाट भई १३ सय ९० कित्ता, घोराही दाङबाट ५४४ जग्गा कित्ताकाट भई १३ सय ३९ कित्ता, झापा दमकबाट ५०८ जग्गाको कित्ताकाट भई १३८ कित्ता, कावासोती पूर्व नवलपरासीबाट ४४४ जग्गा कित्ताकाट भई ९९३ कित्ता, लगनखेलबाट ४०६ जग्गा कित्ताकाट भई ५०२ कित्ता, कास्कीबाट ३५८ जग्गा कित्ताकाट भई ३०० कित्ता, अर्घाखाँचीबाट ३५२ जग्गा कित्ताकाट भई ३२८ कित्ता र साँखुबाट ३४० जग्गा कित्ताकाट भई ८५८ कित्ता कायम भएको छ ।

देशभर १२६ मालपोत कार्यालय छन् । त्यसमध्ये करिब ५० वटा मालपोत कार्यालयबाट असोज महिनामा कुानै कित्ताकाट नभएको तथ्याङ्कले उल्लेख गर्छ ।

उपत्यकामा १८ सय बढी जग्गा कित्ताकाट

देशभर ९ हजार जग्गा कित्ताकाट हुँदा उपत्यकाको ८ वटा मालपोत कार्यालयबाट १८ सय ६५ कित्ताकाट भएको छ । उक्त जग्गा कित्ताकाट भई ४३ सय ४६ कित्ता कायम भएको छ ।

असोजमा उपत्यकाको सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट कित्ताकाट भएको छ । सो मालपोत कार्यालयबाट ५७१ जग्गा कित्ताकाट भई १७ सय ६८ कित्ता कायम भएको छ ।

त्यसपछि लगनखेलबाट ४०६ जग्गा कित्ताकाट भई ५०२ कित्ता, साँखुबाट ३४० जग्गा कित्ताकाट भई ८५८ कित्ता,चावहिलबाट २२९ जग्गा कित्ताकाट भई ४५३ कित्ता, भक्तपुरबाट १५७ जग्गा कित्ताकाट भई २२३ कित्ता, टोखाबाट ७४ वटा जग्गा कित्ताकाट भई ४२३ कित्ता, डिल्लिबजारबाट ४६ वटा जग्गा कित्ताकाट भई ७९ कित्ता कायम र मनमैजुबाट ४२ जग्गा कित्ताकाट भई ४० कित्ता कायम भएको छ ।

६८ सय जग्गा किनबेच

देशभर ९ हजार जग्गाको १९ हजार कित्ता कायम भएकोमध्ये असोज महिनामा ६८ सय कित्ता लिखत पारित गरेको छ । विभागअनुसार असोज महिनामा नेपालगञ्जबाट १२ सय ६७ कित्ता किनबेच भएको छ ।

त्यसैगरी, कलंकीबाट ७७४ कित्ता, तुलसीपुर दाङबाट ६८८ कित्ता, घोराही दाङबाट ६६९ कित्ता, धनगढीबाट ६०४ कित्ता, कावासोती नवलपरासीबाट ४९४ कित्ता, साँखुबाट ४१० कित्ता, सिन्धुलीबाट २५८ कित्ता, लमही दाङबाट २२९ कित्ता र चावहिलबाट १७९ कित्ता किनबेच भएको छ ।


अरिष्मा मोक्तान