थपिएका ग्राहकमध्ये ४० प्रतिशत डिसहोमको, टेलिकमको घट्दो



काठमाडौं । देशभर इन्टरनेट सेवा प्रदायक संस्थाहरू सेवा प्रवाहमा निकै प्रतिस्पर्धा गर्न थालेका छन् । हाल देशभर ६० वटा इन्टरनेट सेवा प्रदायक संस्था रहेका छन् ।

सेवा प्रदायक संस्थाहरुबीच उच्च प्रतिस्पर्धा हुँदा विभिन्न अफरसहित ग्राहक बढाउन सस्तोभन्दा सस्तो मूल्यमा इन्टरनेट जडान गरिरहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणअनुसार असार मसान्तसम्ममा देशभर २२ लाख ३४ हजार ९२१ इन्टरनेट प्रयोगकर्ता पुगेका छन् । जसमा २३ हजार १३५ जना प्रयोगकर्ता वायरलेस, १ लाख ४ हजार २३० जना प्रयोगकर्ता केबल र २१ लाख ७ हजार ५५६ जना प्रयोगकर्ताले फाइबरनेट जडान गरेका छन् ।

देशभर मासिक ५० हजारभन्दा बढी ग्राहक थपिँदा पछिल्लो समय केही वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्न शुरु गरेका कम्पनी आक्रमक रुपमा प्रस्तुत भएको देखिन्छ । त्यस्तै, गत असारमा मात्रै ६० हजार ६५७ ग्राहक थपिएका छन् । उक्त ग्राहकमध्ये ४० प्रतिशत ग्राहक डिस मिडिया नेटकर्व अर्थात् डिसहोमको पोल्टामा रहेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।

प्राधिकरणअनुसार असार महिनामा साढे ६० हजार ग्राहक थपिँदा डिसहोमले सबैभन्दा बढी ग्राहक बनाउन सफल भएका छन् । कम्पनीले असारमा मात्रै २४ हजार ३०९ ग्राहक थपेको छ । कम्पनीले देशभर इन्टरनेट सेवा प्रदान गर्न शुरु गरेको धेरै समय भएको छैन । छोटो अवधिमै डिसहोम आक्रमक रुपले प्रस्तुत भई अन्य सेवा प्रदायक कम्पनीभन्दा बढी ग्राहक बनाउन सफल भएको छ ।

देशकै सबैभन्दा बढी ग्राहक र ठूलो प्रदायक संस्थाको रुपमा स्थापित वर्ल्डलिंकलाई पछि पार्दै असार महिनामा डिसहोमले आक्रमक रुपमा बजार कब्जा गरेको छ । असारमा वर्ल्डलिंकले १४ हजार ८३३ जना ग्राहक बनाउन सफल भएको छ । जबकी डिसहोमले सो अवधिमा वर्ल्डलिंकभन्दा ९ हजार ४७६ बढी ग्राहक बनाएका छन् ।

डिस मिडिया नेटवर्कले सन् २०१० देखि नेपालमा डिसहोमको सुविधा दिँदै आएको छ । अहिले कम्पनीले १३ सयभन्दा बढी फ्रेन्चाइजका सेवा दिँदै आएको छ । २०७ च्यानलमध्ये ६१ वटा एचडी र १४६ एसडी कन्टेन्टको सुविधा दिँदै आएको कम्पनीको मात्रै २१ वटा आफ्नै च्यानल छन् । जुन अन्य अपरेटर कम्पनीसँग उपलब्ध छैनन् ।

विगत लामो समयदेखि डिसहोमको सुविधा दिँदै आएपनि कम्पनीले इन्टरनेट सेवा विस्तार भने सन् २०२० को फेब्रुअरीबाट डिस होम फाइबरनेट ब्रान्ड सार्वजनिक गरी इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । सन् २०२० को शुरुवातीमा इन्टरनेट सेवा प्रदान गर्न शुरु गरेको कम्पनीले छोटो अवधिमै उच्च ग्राहक बनाएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

डिसहोमको गत जेठमा मात्रै १ लाख बढी ग्राहक भएका थिए । जेठसम्ममा डिसहोमको १ लाख ७ हजार ९१७ जना ग्राहक थिए । त्यस्तै, असारमा २४ हजार बढी ग्राहक थपिँदा डिसहोमको देशभर १ लाख ३२ हजार २२६ जना इन्टरनेट प्रयोगकर्ता छन् ।

टेलिकमकाे ग्राहक ६ हजारले घट्यो, क्लासिक टेक र सीजीले थप्न सकेनन्

इन्टरनेट सेवा प्रदायक संस्थाहरुको बजारमा बढ्दो प्रतिस्पर्धाका बीच ग्राहक बढाउँदै लगेका अवस्थामा सरकारद्वारा सञ्चालित नेपाल दूरसञ्चार कम्पनीको ग्राहक भने घट्दो क्रममा देखिन्छ । गत फागुन मसान्तसम्ममा २ लाख ९९ हजार १४९ ग्राहक पुर्याएको कम्पनीको असारसम्ममा आइपुग्दा करिब ७ हजारले ग्राहक घटेको छ ।

त्यस्तै, चैतसम्ममा देशभर २ लाख ९८ हजार ३९१ जना, वैशाखसम्ममा १ लाख ९८ हजार ३७४ जना र जेठसम्ममा २ लाख ९८ हजार १६५ जना ग्राहक थिए । तर, असार मसान्तसम्ममा आइपुग्दा एकै महिना ५ हजार ८२२ जना ग्राहक निष्क्रिय भएका छन् । असार मसान्तसम्ममा देशभर दूरसञ्चार कम्पनीको २ लाख ९२ हजार ३४३ सक्रिय ग्राहक छन् ।

दूरसञ्चार प्राधिकरण मात्रै नभएर अन्य निजी सेवा प्रदायक कम्पनीको ग्राहक पनि उल्लेख्य कमी आएको छ । असारमा फाइबरवल्र्ड कम्यूनिकेशन प्रालि र सिम्पल मिडिया नेटवर्क केबललगायत अन्य कम्पनीको ग्राहक घटेका छन् ।

बजारमा ६ सेवा प्रदायक कम्पनीमध्ये पछिल्लो समय विभिन्न अफर तथा छुटसहित इन्टरनेट जडानमा आक्रमक रुपमा प्रस्तुत हुँदै आएको क्लासिक टेक प्रालि र सीजी कम्यूनिकेशन लिमिटेडले पनि असार महिनामा ग्राहक थप्न सकेनन् । अन्य अधिकांश सेवा प्रदायक कम्पनीहरूले केही मात्रामा ग्राहक बढाउँदै लगेको देखिन्छ । तर, बजारमा उच्च प्रतिस्पर्धा गर्दै आएको यी दुई सेवा प्रदायक कम्पनीले भने कुनै पनि ग्राहक थप्न नसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणअनुसार जेठमा क्लासिक टेकको देशभर २ लाख ३० हजार ४७६ जना र सीजीको २२ हजार २९५ जना ग्राहक रहेकोमा असारमा पनि सोही संख्यामा ग्राहक कायम भएको छ ।

कुन सेवा प्रदायक कम्पनीले असारमा कति ग्राहक बनाए ?

असार महिनामा साढे ६० हजार ग्राहक थपिँदा केही सेवा प्रदायक कम्पनीको ग्राहक ह्वात्तै बढेको छ भने केहीको घटेको छ । त्यस्तै, असार महिनामा डिसहोमले २४ हजार ग्राहक थप गर्दा वल्डलिंकले करिब १५ हजारको हाराहारीमा ग्राहक बनाएका छन् ।

त्यस्तै, भायोनेट कम्यूसनकेशनले असार महिनामा ५ हजार २२३ जना, सुबिसु केबलनेटले ३ हजार ८०६ जना, टेकमाइन्ड्स नेटवर्कले १३ सय ७० जना, ब्रोडलिंक नेटवर्क तथा कम्यूनिकेशनले २ हजार ५३२ जना र एरोनेट प्रालिले ४६३ जना ग्राहक बनाएका छन् ।

देशभर कुन सेवा प्रदायक संस्थाको ग्राहक कति ?

देशभर ६० वटा इन्टरनेट सेवा प्रदायक संस्था हुँदा सिमित सेवा प्रदायक संस्थाको पकडमा देशभरको इन्टरनेट प्रयोगकर्ता छन् । प्राधिकरणअनुसार वल्र्डलिंक, नेपाल दुरसञ्चार कम्पनी, भायोनेट, सुबिसु, क्लासिक टेक, डिस मिडिया नेटवर्क र टेकमाइन्डस् नेटवर्कको पकटमा देशभरको ग्राहक रहेको जनाएको छ ।

असारसम्ममा देशभर वर्ल्डलिंक कम्यूनिकेशनको ६ लाख ६० हजार २०२ जना, नेपाल दूरसञ्चार कम्पनीको २ लाख ९२ हजार ३४३ जना, भायोनेटको २ लाख ३० हजार ६८८ जना, सुबिसुको २ लाख ३६ हजार २७४ जना, क्लासिक टेकको २ लाख ३० हजार ४७६ जना, डिस मिडिया नेटवर्कको १ लाख ३२ हजार २२६ जना र टेकमाइन्ड्स नेटवर्कको १ लाख ३ हजार ६३१ जना प्रयोगकर्ता छन् ।

त्यसैगरी, वेब सर्फर नेपाल कम्यूनिकेशन सिस्टमको ६३ हजार ३३६ जना, ब्रोडलिंक नेटवर्क तथा कम्यूनिकेशनको ५५ हजार २७६ जना, एरोनेट प्रालिको १८ हजार ८०४ जना, फाइबरवल्र्ड कम्यूनिकेशनको २० हजार ५३४ जना, सिम्पल मिडिया नेटवर्क केबलको २९ हजार ५५ जना, सीजीको २२ हजार २९५ जना र कनेक्ट नेपाल नेटवर्कको १८ हजार ५७० जना ग्राहक छन् ।


अरिष्मा मोक्तान