सुनसान सिंहदरबार, दशैं मनाउन गएका कर्मचारी कहिले फर्केलान ?



काठमाडौं । दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ ।

दशैं सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । नेता र मन्त्रीहरु निर्वाचन प्रयोजनका लागि आ–आफ्नो जिल्ला गएसँगै सिंहदरवार सुनसान बनेको हो ।

मन्त्रीहरु निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भीड यतिबेला सिंहदरबारमा कम छ । मन्त्री तथा नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा गएकोले पनि सिंहदरवार सुनसान बनेको छ ।

मंगलबार पनि सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ । आइतबार कोजाग्रत पूर्णिमादेखि दशैं औपचारिक रुपमा सकिएपनि सरकारी कामकाज शुरु भइसक्दा समेत दशैं बिदामा गएका कर्मचारीहरु फर्किसकेका छैनन् । मन्त्रीहरु पनि निर्वाचनका लागि दौडिरहँदा मन्त्रालयमा आउने सेवाग्राही तथा सर्वसाधारणको भीड घटेको हो । हाल मन्त्रालयमा सिमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ ।

पछिल्लो केही दिन यता देशभर वर्षा हुँदा भएको जनधनको क्षतिका कारण पनि नेता तथा मन्त्रीहरु विभिन्न जिल्लामा पुगिरहेका छन् । वर्षाका कारण सडकहरु भत्किँदा राजधानी फर्किनेहरु सहजै, समयमै राजधानी काठमाडौं फर्किन सकिरहेका छैनन् । यसले पनि सिंहदरवार जानेहरुको संख्या घटाएको छ । दैनिक हजारौँको संख्यामा मानिसहरु सिंहदरबार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय लगायतका मन्त्रालयको अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीहरुको संख्या न्युन मात्रामा देखियो ।


क्लिकमान्डु