ब्रोकर लाईसेन्स दिन बोर्डले माग्यो आवेदन



काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । बोर्डले आइतबार सूचना प्रकाशित गर्दै ३० दिन भित्र बोर्डमा आवेदन दिन भनेको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन पेस गर्न बोर्डले भनेको हो । निवेदन पेस गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको लगरी कार्यालय खुलेको दिन कार्यालय समय भित्र निवेदन बुझाउन सकिने बोर्डले जनाएको छ ।

धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकाले ब्रोकर थप्न लागेको बोर्डले जनाएको छ ।

यसका लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानूनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले आवेदन दिन पाउनेछन् ।

निवेदन पेस गर्दा निवेदकको नाम, ठेगाना स्पष्ट खुल्ने गरी नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा उल्लेखित कागजात तथा विवरणहरू पेस गर्नुपर्नेछ ।

रितपूर्वक नभएका वा म्याद नाघी आएका वा कुनै सर्त समावेश गरी पेस भएका निवेदन उपर कुनै कारवाही हुने नहुने बोर्डले जनाएको छ ।

नयाँ ब्रोकर थपेसँगै धितोपत्र बजारलाई थप प्रतिस्पर्धा, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तराष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्ने बोर्डको भनाइ छ ।


क्लिकमान्डु