खिलुङ कालिका एग्रोले गर्‍यो ४८ करोड रुपैयाँको व्यापार



काठमाडौं । बजारमा अण्डा, रिटायर्ड लेयर्स र अर्गानिक मल बिक्री वितरण गर्दै आएको खिलुङ कालिका एग्रोले एकै वर्ष ४८ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा सो रकम बराबरको व्यापार गरेको हो ।

सन् २०१४ मा दर्ता भएको कम्पनीले पोल्ट्री क्षेत्रमा आबद्ध भइ अण्डाको उत्पादन गरी होलसेलको व्यापार गर्दै आएको छ । कम्पनीले विभिन्न ४ वटा ब्रिडिङ शेडमा ५० हजार क्षमताको लेसर्य उत्पादन गर्दै आएको जनाएको छ ।

कम्पनीले सन् २०२० मा १८ करोड १० लाख रुपैयाँको र सन् २०१९ मा ३० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । उक्त गरेको व्यापारबाट कम्पनीले सन् २०२१ मा १६.१९ प्रतिशतले नाफा कमाएको छ । सन् २०२० मा कम्पनीले ४.६० प्रतिशत मात्रै नाफा कमाएको थियो ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५२ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३१ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २० करोड रुपैयाँको रेटिङ गराएको छ ।

त्यस्तै, सोही कम्पनीले धनुषामा १ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ लगानीमा जनकपुर एग्रो फार्मको निर्माण कार्य अगाडि बढाएको छ । हालसम्म ६० प्रतिशत भौतिक र ४८ प्रतिशत आर्थिक प्रगति गरेको उक्त एग्रोबाट पोल्ट्री फार्मसँगै जैविक मल प्लान्ट र सीएनजी बायोग्यास उत्पादन गर्ने जनाएको छ ।


क्लिकमान्डु