दुई पांग्रे सवारीमा दशैं-तिहार लक्षित अफरै अफर, कुन कम्पनीको कस्तो ?
काठमाडौं । दशैं-तिहार नजिकिँदै गर्दा सवारी साधन कम्पनीहरूले अफर सार्वजनिक गरेका छन् । त्यसमा पनि दुई पांग्रे सवारी साधनहरूले भारी छुटसहित अफर सार्वजनिक गरेका छन् ।
बजारमा दर्जन हाराहारी दुई पांग्रे सवारी साधन कम्पनी छन् । उक्त कम्पनीहरूहरुले ग्राहकलाई आकर्षण गर्नका लागि विभिन्न अफर सार्वजनिक गरेका छन् । अटोमोबाइल कम्पनीहरूले हरेक वर्ष दशैंतिहार लक्षित विभिन्न अफर सार्वजनिक गर्दै आएका छन् । त्यस्तै यो वर्ष पनि हिरो, बजाज, सुजुकी, यामाहा, टीभीएसलगायत अन्य कम्पनीले बजारमा ग्राहकहरूको लागि दशैंतिहार अफर सार्वजनिक गरेका छन् ।
कुन कम्पनीको कस्तो अफर ?
टीभीएस: नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना भदौ २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ ।
‘कायापलट’ योजनाअन्तर्गत नकिन्दै टीभीएसको वेवसाइटमा गएर १ लाख जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका पाउनेछन् । हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्ट फोन प्रदान गरिने छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ ।
यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४२ सयको मासिक इएमआइमा बाइक तथा स्कुटर किन्न सक्नेछन् । विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत् साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।
हिरो: नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले दशैंलाई लक्षित गरी ‘आहा दशैं’ योजना सार्वजनिक गरेको छ । कम्पनीले हिरो मोटरसाइकल वा स्कुटर खरिद गर्दा ७ हजार ५ सयको निश्चित छुट पाउनेछन् । त्यसैगरी, कम्पनीले हरेक स्क्राचमा १ लाख रुपैयाँसम्म छुट र बम्पर पुरस्कारमा १ लाख रुपैयाँको अफर सार्वजनिक गरेको छ ।
त्यस्तै, कम्पनीले शून्य प्रतिशत डाउनपेमेन्टमा उपलब्ध हुनेछ भने मोटरसाइकल वा स्कुटर एक्स्चेन्जको व्यवस्था गरेको छ ।
सुजुकीः सुजुकी कम्पनीको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोवाईल्स प्रालिले दराजमार्फत् सुजुकी दराज ‘दशैं धमाका’ योजना ल्याएको छ । कम्पनीले सन् २०२० देखि दराजसँग सम्झौता गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले दुई पांग्रे सवारी साधन दराजमार्फत् खरिद गरेमा २० हजार रुपैयाँ छुट पाउने व्यवस्था गरेको छ । त्यसैगरी, कम्पनीले एभिनिस, बर्गम्यान, एक्सेस, जिक्सर, हायातेजस्ता दुई पाङ सवारी साधनमा १० हजार छुट दिने कम्पनीले जनाएको छ । त्यसमा ग्राहकले दराजबाट थप १० हजारको क्यास भौचर पाउनेछन् ।
होन्डाः नेपालका लागि होन्डाको दुई पांग्रे सवारी साधनको आधिकारिक विक्रेता स्याकर ट्रेडिङले ‘दशैंको शुभ लाभ’ अफर सार्वजनिक गरेको छ । कम्पनीले बम्परमा अफरमा १५ लाख रुपैयाँ जित्न सक्ने जनाएको छ ।
कम्पनीअनुसार ७ प्रदेश, ७ विजेता र ७ लाख नगदको भारी छुटको व्यवस्था गरेको छ । जसमा ७ प्रदेशलाई समावेश गरेर हरेक प्रदेशबाट १ जनाले १ लाख रुपैयाँ जित्न सक्नेछन् ।
साथै, कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्राचमा ७ लाख रुपैयाँ क्यास ब्याक पाउनेछन् । साथै, भाग्यशाली विजेताले लक्की ड्रमार्फत् १५ लाख रुपैयाँ पाउने कम्पनीको भनाइ छ ।
त्यस्तै, कम्पनीले होन्डा बिग बाइक खरिदमा ७० हजार रुपैयाँ क्यासब्याक पाउन सक्ने योजना ल्याएको छ । साथै, कम्पनीले ७ वर्षका लागि पाटपूर्जामा ७ प्रतिशत छुट, ७ वर्षसम्म सर्भिसिङ छुट, कम इएमाई, कम डाउनपेमेन्ट र कम ब्याजदरमा खरिद गर्न सक्ने सुविधा उपलब्ध हुने जनाएको छ ।
यामाहाः यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं तिहारलक्षित ‘यामाहा फेष्टिभ ह्याट्रिक’ अफर सार्वजनिक गरेको छ ।
कम्पनीले हरेक दिन लक्की ड्रमार्फत् ३ जनालाई हिसेन्सको स्मार्ट टिभी प्रदान गर्नेछ । त्यसैगरी, स्कुटर तथा मोटरसाइकल खरिद गर्दा ६ हजार रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ ।
बजाजः दशैंको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘अब आधाको आधा नै काफी’ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत कुनै पनि ग्राहकले मोटसाइकल तथा स्कुटर खरिदमा २५ प्रतिशत, ३५ प्रतिशत र ५० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन् । साथै, खरिदमा ७ हजार छुटको व्यवस्था गरेको छ । साथै, मोटरसाइकल तथा स्कुटरमा ५ वर्ष वारेन्टिको सुविधा रहेको कम्पनीले जनाएको छ ।