सीए पढेका दुई साथीले ५ वर्षअघि सुरु गरेको भोज काठमाडौंबाट बुटबल हुँदै विराटनगर पुग्यो



निकेत अग्रवाल

काठमाडौं । अष्ट्रेलिया बसिरहेका राहुल बजाजले सात वर्षअघि एउटा यस्तो ‘कन्सेप्ट’ ल्याए जसले रेष्टुराँ पुग्ने ग्राहकलाई डिस्काउन्ट कुपन उपलब्ध गराउँथ्यो ।

त्यसको उनले नामाकरण गरे, ‘भोजडिल’ । भोजडिलले खास ‘डाइनिङ डिल’ गर्‍थ्यो ।

डाइनिङ डिलको कन्सेप्ट थियो, रेष्टुरेन्ट पुग्ने ग्राहकलाई ‘डिस्काउन्ट कुपन’ उपलब्ध गराउने । उक्त कुपन लिएर रेष्टुरेन्ट जानेले छुट पाउँथे । यसरी छुट कुपन उपलब्ध गराउने रेष्टुरेन्टको संख्या झन्डै सय थियो ।

छुट पाउन कुपनलाई अझै बढाउनु पर्ने भयो । बजारमा फुड डेलिभरी कम्पनी थिए तर त्यसमा ठूलो ग्याप थियो । बजारबाट छुट कुपनमात्र नभएर फुड डेलिभरीको पनि माग आयो ।

त्यसपछि भोजडिलमा जोडिए राहुलका साथी निकेत अग्रवाल । दुई साथी ‘पार्टनर’ बनेर सन् २०१७ जुनदेखि शुरु भयो फुड डेलिभरी कम्पनी भोज ।

पाँचजना राइडर र दुई कोठाबाट शुरु भएको भोज पाँच वर्षको अवधिमा फुड डेलिभरी कम्पनीको रुपमा स्थापित भइसकेको छ। स्टार्टअपबाट शुरु भएको भोज आज त्यसबाट माथि उठेर व्यवसायीकरुपमा स्थापित भइसकेको छ ।

‘पाँच वर्षको अवधिमा हामी फुड डेलिभरीमा स्थापित भइसकेका छौं,’ भोजका सहसंस्थापक निकेत अग्रवाल भन्छन्, ‘हामीले काठमाडौंसहित बाहिर पनि व्यवसाय शुरु गरिसकेका छौं ।’

डेढ सयभन्दा बढी राइडर रहेको भोजले रेष्टुरेन्टलगायत खाद्यान्न, फलफुल, तरकारीका साथ फ्रोजन फुड पनि डेलिभरी गरिरहेको छ । काठमाडौं उपत्यकाबाट शुरु भएको भोज एक वर्षअघि बुटबल भैरहवामा सेवा शुरु भयो ।

व्यवसाय विस्तारको क्रम जारी छ । शुक्रबारमात्रै भोजले विराटनगरको फुड डेलिभरी कम्पनी ‘क्विकरफुड’लाई आफूमा गाभेको छ । नेपालमा पहिलो पटक टेक कम्पनी अक्वायरको शुरुवात भएको निकेत बताउँछन् ।

क्विकरफुड विराटनगरको चर्चित फुड डेलिभरी कम्पनी हो । तीन वर्षअघि शुरु भएको क्विकरफुडसँग त्यस क्षेत्रका ७५ होटल रेष्टुरेन्ट जोडिएका छन् । अब विराटनगरमा ‘क्विकरफुड’ भोज ब्रान्डमा सञ्चालन हुनेछ ।

भोज खानासँगै खाद्यान्न डेलिभरी पनि गर्छ । कोरोना संक्रमण शुरु भएपछि बजार सबै ठप्प भयो । सरकारले अत्यावश्यक खाद्यान्नको डेलिभरी भने खुला गरेको थियो ।

त्यहीबेला भोजले खाद्यान्न र लिक्वेयर डेलिभरी शुरु गर्‍यो । ‘हामीसँग साढे सात सय रेष्टुरेटहरु जोडिएका छन्,’ अग्रवाल भन्छन्, ‘राति दुई बजेसम्म हाम्रो डेलिभरी सेवा सञ्चालन भइरहेको छ ।’

अहिले भोजसँग ६० जना कर्मचारी छन् । बुटबलमा पनि एक दर्जन राइडरलगायत दश जना अफिस कर्मचारीहरु छन् । त्यहाँ भोजसँग सय रेष्टुरेन्ट जोडिएका छन् ।

सीएसँगै ‘भोज’ !

निकेत र राहुल स्कुल पढ्दा देखिका साथी हुन् । काठमाडौंमा स्कुल पढेपछि भारतबाट सँगसँगै चार्टर्ड अकाउन्टेन्ट (सीए) पढे । त्यसपछिको यात्रा भने फरक बाटोमा भयो । राहुल अष्ट्रेलिया गएभने निकेत काठमाडौं फर्किए ।

नेपाल फर्किएपछि निकेत सीएको अभ्यासतिर लागे । अष्ट्रेलिया पुगेका राहुलले सीएसँगै नयाँ काम गरिरहेका थिए । त्यो थियो, भोजडिल।

सन् २०१५ मा उनले भोजडिलको वेवसाइट बनाए । केही रेष्टुरेन्टसँग सम्झौता गरे र त्यस वेवसाइटमा सूचीकृत गरे ।

ग्राहकले वेवसाइटमा रहेका कुनै पनि रेष्टुरेन्टकको डिस्काउन्ट लिनसक्थे । जुन कुपन लिएर रेष्टुरेन्टमा गएपछि छुट पाइन्थ्यो । जसलाई डाइनिङ डिल्स नाम दिएका थिए ।

सिधै रेष्टुरेन्टमा गएर छुट माग्न गाह्रो हुन्छ, तर उनले डिस्काउन्ट कुपन पाइने प्लेटफर्म बनाए । राहुलले बनाएको त्यो प्लेटफर्ममा काठमाडौंका सय रेष्टुरेन्ट जोडिएका थिए ।

यस कार्यमा निकेतले पनि सहयोग गरिरहेका थिए । नयाँ कन्सेप्टमा आएको डाइनिङ डिल्सले राम्रो प्रतिक्रिया पाइरहेको थियो ।
त्यो बेला निकेतले राहुललाई भने, ‘डाइनिङ डिलमात्र होइन, खाना डेलिभरी पनि गर्नु पर्‍यो भन्ने माग ग्राहक र रेष्टुरेन्ट व्यवसायीबाट आयो ।

निकेतलाई लागिरहेको थियो काठमाडौंलाई फुड डेलिभरीको आवश्यकता छ । फुड डेलिभरी कम्पनीहरु आएको भए पनि त्यति प्रभावकारी हुन सकिरहेको थिएन । खाना घरमा पुर्‍याउन काम हुन्थ्यो तर गुणस्तर, छिटोछरितो हुन सकेको थिएन ।

नयाँ केही गर्न र नयाँ तरिकाले राम्रो कसरी गर्न सकिन्छ भन्ने उनलाई लागिरहेको थियो ।

चार्टर्ड अकाउन्टेन्ट भइसकेपछि उनलाई बैंक, इन्स्योरेन्समा जाने अवसर पनि थियो । ‘जागिरभन्दा केही छुट्टै गरौं भन्ने मेरो पहिलादेखिको सोच हो,’ निकेत भन्छन्, ‘युनिक काममा मजा पनि हुन्छ ।’

राहुलले पनि त्यसलाई ‘सपोर्ट’ गरे । ‘ल, त्यसो हो भने सँगै मिलेर खाना डेलिभरी गरौं न त,’ राहुलले भने । स्कुलदेखिका साथी फेरि व्यवसायिक यात्रामा जोडिए र तयारी शुरु गरे खाना डेलिभरी गर्ने कम्पनी भोज ।

सन् २०१६ को अन्त्यतिर शुरु भएको तयारी पूर्णरुप लिन ६ महिना लाग्यो । त्यसबीचमा एप बनाए । कमलादीमा काकाको अफिसमा दुई कोठा लिए । पाँच राइडरलाई काठमाडौंका पाँच कुनामा राखे । तीन/चारजना अफिसमा कर्मचारी राखे ।

भोजडिलमा पहिलेदेखि झन्डै सय रेष्टुरेन्ट जोडिसकेका थिए । त्यसमा खाना डेलिभरी गर्ने सम्झौता गरे र एक दर्जनको टिम बनाएर शुरु भयो भोज ।

‘तिमीहरुले के गरिरहेका छौं ?,’ मान्छेहरु सोध्थे । ‘फुड डेलिभरी गरिरहेका छौं,’ उनीहरुको जवाफ हुन्थ्यो ।

‘के हो यो फुडडेलिभरी ?,’ धेरैले सोध्थे, ‘खाना आफैं पकाउँछौं कि कसरी गर्छौं ?’

थुप्रै यस्ता प्रश्नहरु आउँथे । सायद समयअनुसार ति प्रश्न स्वभाविकै पनि थिए ।

आज भोज भन्ने बित्तिकै सबैले चिन्ने भएको छ । ‘पाँच वर्षमा हामी जुन अवस्थामा पुगेका छौं । यो सबै हाम्रो टिमको योगदान हो,’ निकेत भन्छन्, ‘हाम्रा ग्राहकले पनि ठूलो सहयोग छ ।’ भोज पाँच वर्षमा स्टार्टअपबाट माथि उठेर फुलफ्लेजको बिजनेसमा आइसकेका छ ।

‘सबैभन्दा ठूलो कुरा टिमको योगदान हो,’ उनी भन्छन्, ‘अहिले पनि शुरुवात देखिका केही कर्मचारीहरु हुनुहुन्छ ।’ फुड डेलिभरीमात्र नभएर भोजमा डाइनिङ डिल्स पनि छ । भोजको कुपन लिएर रेष्टुरेन्ट जाँदा डिस्काउन्ट पाइन्छ । साथै, भोजबाट एक हजारभन्दा माथिको अर्डरमा डेलिभरी शुल्क लाग्दैन ।

भोजको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसबाट जति मूल्यको खाना अर्डर गरे पनि डेलिभरी गर्छन् । ‘एउटा समोसा अर्डर गरे पनि हामी डेलिभरी गर्छौं,’ निकेत भन्छन्, ‘ग्राहकलाई न्यूनतम यतिभनेर सीमा तोकिदिएका छैनौं ।’

प्रायः फुड डेलिभरीले खाना अर्डरको न्यूनतम मूल्य तोकेका हुन्छन् ।

काठमाडौं, बुटबलमा सेवा दिइरहेको भोजले विराटनगर पनि शुरु गरेको छ । यी शहरसँगै अन्य केही सहरमा जाने योजना रहेको निकेतले बताए ।

‘थप दुई/तीन सहरमा हामी जान्छौं,’ निकेत भन्छन्,’ त्यसको लागि हामी केही तयारी गरिरहेका छौं ।’

फुड डेलिभरी व्यवसायमा धेरै कम्पनी थपिएका छन् । विदेशी लगानीका फुड डेलिभरी कम्पनी आइरहेको अवस्था नेपालमा यस व्यवसायको ठूलो बजार बाँकी रहेको उनी बताउँछन् ।

नयाँ कम्पनी आइरहे पनि काम गर्ने ठूलो क्षेत्र बाँकी रहेकाले त्यसले असर नगर्ने उनी बताउँछन् । ‘नयाँ कम्पनी आइरहेको भए पनि उहाँहरुले नयाँ ग्राहक बनाइरहेका छन्,’ उनी भन्छन्, ‘बजारमा यस व्यवसायको ठूलो भाग छ । हाम्रा ग्राहक खोसिने भन्ने छैन ।’

अहिले काठमाडौंको रेष्टुरेन्टको व्यापारमा व्यवस्थित रुपमा रहेको खाना डेलिभरी १० प्रतिशतभन्दा कम छ । धेरै लामो बाटो जान बाँकी रहेको उनी बताउँछन् ।

व्यवसाय विस्तारका लागि थप लगानी गर्ने योजनामा छन्, उनीहरु । उनीहरु त्यस्तो लगानीकर्ता खोजिरहेका छन्, जसको सहकार्यबाट व्यवसायात्राले फड्को मार्न सकोस् ।

‘हामी नयाँ लागनीकर्ता पनि सहभागी गराउन खोजिरहेका छौं,’ निकेत भन्छन्, ‘हामीले अहिले पाँच वर्षमा गरेको प्रगति दुई वर्षमै प्राप्त होस्।’


सन्तोष न्यौपाने