बिराटनगरमा ‘क्विकर फुड’को क्विक सेवा, नेटवर्कमा ४५ रेष्टुराँ, वार्षिक साढे २ करोडको कारोबार



बिराटनगर । फागुन १७ गते शिवरात्रीको सार्वजनिक विदा भए पनि बिराटनगरका ३१ वर्षे सरोज लम्सालको व्यस्तता भने निकै बढेको थियो । विदा र सप्तान्तका दिनमा खानाको अर्डर अझ धेरै आउँछन् ।

मंगलबार बिराटनगरको उनकै कार्यालय ‘क्विकर फुड’मा पुग्दा नयाँ एक रेष्टुेराँलाई आफ्नो नेटवर्कमा जोडेर भर्खरै फर्किएका रहेछन् ।

‘शानदार मःमः बिराटनगरमा खुल्दैछ,’ सरोजले भने, ‘हाम्रो नेटवर्कमा जोडिन उसले आग्रह गरेको थियो ।’

सरोजले बिराटनगरमा साढे दुई वर्षदेखि घरघरमा खाना पुर्याउने क्विकर फुड सञ्चालन गरिरहेका छन् । कतिले यसलाई ‘बिराटनगरको फुडमाण्डू’ पनि भन्दा रहेछन् । यसको अर्थ काठमाडौंमा फुडमाण्डुले जस्तै काम गर्छ भन्ने हो । तर सरोजलाई भने आफ्नै परिचय बनाउन चाहन्छन् ।

साढे दुई वर्षको अवधिमा क्विकरले आफ्नै परिचय बनाउन सफल पनि भएको छ । शुरुका दिनमा दैनिक २० वटा अर्डर लिने क्विकरले अहिले दैनिक २०० भन्दाबढी अर्डर लिइरहेको छ । वार्षिक २ करोड ४० लाख कारोबार गर्ने क्विकरले २५ जनालाई रोजगारी पनि दिएको छ ।

व्यवसायको ग्राफ अझै माथि उक्लिने क्रम जारी छ । नयाँ लगानीसमेत जुटाएर खानासँगै फलफूल र तरकारीको डेलिभरी गर्ने योजना समेत उनले बनाएका छन् । यो काम अहिले पनि गर्छन् तर यसमा अझ व्यापकता उनले चाहिरहेका छन् । यसका साथै क्लाउड किचन पनि सञ्चालन तयारी गरिरहेका छन् ।

साढे दुई वर्षदेखि क्विकरले बिराटनगरवासीलाई अनलाइनबाट खाना अर्डर गर्न सिकाएको छ ।

‘सहरको पहिलो फुड डेलिभरी गर्ने व्यवसायमा आउने आँट कसरी आयो त ?,’ कुराकानीको शुरुवात गर्दै हामीले सोध्यौं ।

बिराटनगर धेरै जनसंख्या भएको सहर हो । औद्योगिक क्षेत्र र धेरै कार्यालय भएको सहरमा फुड डेलिभरी राम्रो चल्छ जस्तो लाग्यो । व्यवसाय शुरु गर्नुअघि बिराटनगरमा सानो सर्भे पनि गरे । गुगल फर्मबाट गरेको सर्भेले यो व्यवसाय चल्छ भन्ने आँट पलायो ।

त्यो बेलामा बिराटनगरमा फुड डेलिभरी सेवा दिने अन्य कम्पनी थिएनन् ।

सरोजसहित ५ जना साथी मिले र फुड डेलिभरी गर्ने निर्णय गरे । एक साथीले नाम जुराए ‘क्विकर फुड ।’

लगानीका लागि उनीहरुसँग धेरै पैसा थिएन । पाँच जना साथीहरुले २ लाखका दर पैसा उठाए । यसरी जम्मा भएको १० लाख रुपैयाँबाट उनीहरुले सन् २०१९ सेप्टेम्बरमा क्विकर फुड जन्माए ।

साथीहरुको विभिन्न क्षेत्रमा अनुभव भएका छन् । कोही फाइनान्स, कोही लजिष्टिकका थिए । सरोज आफै भने कार्यकारी निर्देशकको रुपमा बजार र अन्य व्यवस्थापन हेर्न थाले ।

विजनेस स्टडिजमा स्नातकोत्तर तह उत्तीर्ण गरेका सरोज खेलकुमा पनि रुचि राख्छन् । जर्मनीमा गएर बास्केट बलमा डिप्लोमा पनि गरेका छन् । राष्ट्रिय खेलकुद परिषदबाट जर्मनीमा ६ महिना कोर्ष गरे २०१८ लाग्दै नेपाल फर्किएपछि उनले नयाँ सोचका साथ यस क्षेत्रमा काम गर्न थालेका हुन् ।

स्टार्टअप शुरु गर्दा समस्या अनेक हुने नै भए । फूड डेलिभरी कम्पनीका लागि रेष्टुराँ जोड्नु नै चूनौती थियो । त्यसैले पहिलो काम रेष्टुराँलाई आफ्नो नेटवर्कमा ल्याउनु थियो ।

‘एक–एकलाई जानकारी गराउन थाल्यौं,’ सरोज भन्छन्, ‘शुरुमा कन्भिन्स गर्न निकै गाह्रो भयो ।’

स्थानीय रेष्टुराँलाई बुझाउनका लागि सजिलो भएन ।

‘यो फूडमाण्डू जस्तै हो,’ रेष्टुराँका सञ्चालकहरुले प्रश्न गर्थे ।

‘त्यस्तै हो, तर बिराटनगरमा आफ्नै तरिकाले गर्न लागेको,’ सरोज जवाफ दिन्थे ।

शुरुवाती चरणमा ५ वटा रेष्टुराँलाई नेटवर्कमा जोड्न सफल भए । काम गर्न थालेपछि कम्पनीप्रति अरुको विश्वास पनि बढ्दै गयो । अन्य रेष्टुराँले पनि नेटवर्कमा जोडिएको देखे । त्यसपछि बिस्तारै रेष्टुराँ जोडिने क्रम बढ्यो ।

‘अहिले हाम्रो नेटवर्क ४५ भन्दा धेरै रेष्टुराँ जोडिएका छन्,’ सरोज भन्छन्, ‘बिराटनगरमा अहिले पनि १ सयभन्दा बढी रेष्टुराँ छन् । केही जोडिन अझै बाँकी छन् ।’

पहिले रेष्टुराँलाई नेटवर्कमा जोड्न गाह्रो थियो । तर, अहिले अवस्था भने फरक भइसकेको छ । बिरानटगरमा नयाँ आउने रेष्टुराँहरु क्विकरको नेटवर्कमा जोडिन आफैं आउन थालेका छन् ।

रेष्टराँलाई व्यापार बढाउन पनि यसले थप सहयोग गरेको छ । ब्रान्डिङ पनि भइरहेको छ ।

नेटवर्कमा जोडिने रेष्टुराँसँग उनले वार्षिक शुल्क र बिक्री वापतको कमिसन लिन्छन् । रेष्टुराँअनुसार वार्षिक ५ हजार र १० हजार रुपैयाँसम्म त्यस्तो शुल्क लाग्छ भने बिक्री भएका आधारमा २० देखि २५ प्रतिशत कमिसन लिन्छन् ।

रेष्टुराँ जोडिनेक्रम वृद्धि भएसँगै अर्डर पनि बढ्दै गएको छ । शुरुको एक दुई महिनामा दैनिक २० वटा जति मात्रै अर्डर आउन्थ्यो । ६ महिनापछि यो संख्या दैनिक ६० भन्दा बढी हुन थाल्यो । वर्षदिन पुग्दा दैनिक अर्डरको संख्या १ सय कट्यो ।

अहिले दैनिक २०० भन्दाबढी अर्डर डेलिभरी भइरहेको छ ।

बिराटनगरमा क्विकरबाट १ सय रुपैयाँ पर्ने बिरयानी सबैभन्दा धेरै बिक्री हुन्छ । दोस्रोमा धेरै अर्डर आउनेमा मःमः हो ।

शुरुवाती दिनमा बिराटनगरका स्थानीयबाट अर्डर लिन सजिलो थिएन । ग्राहकमाझ पुग्न उनले सामाजिक सञ्जाल र केही क्याम्पियन नै चलाए ।

‘फेसबुक र इस्टाग्राम जस्ता सोसल साइटबाट फुड डेलिभरीबारे जानकारी गराउन थाल्यौं,’ सरोज भन्छन्, ‘अहिले टिकटकलाई पनि प्रयोग गरिरहेका छौं ।’

त्यस्तै, अफलाइन ब्रान्डिङका लागि पनि केही काम उनीहरुले गरे । नयाँ वर्ष, क्रिसमस जस्ता अवसरमा सेन्टर मलमा प्रचारप्रसारको क्याम्पियन चलाए । केही रेष्टुराँहरुमा बोर्ड पनि झुण्डाए ।

कम्पनी शुरु भएको वर्षदिन बित्दै गर्दा कोरोना संक्रमण फैलियो । देशभर लकडाउन भयो । अब के गर्ने के नगर्ने अन्योल थपियो ।

तर, कम्पनी त चलाउनै पर्यो । उनीहरुले जुक्ति लगाए खाद्यान्न, फलफूल तरकारीको डेलिभरी गर्ने । लकडाउनमा शुरु भएको यो कामलाई उनीहरुले अहिले पनि निरन्तरता दिइरहेका छन् ।

उनीहरुले ग्रोसरी डेलिभरी शुरु गरे पनि पहिलो लकडाउनमा त्यति राम्रो भएन तर दोस्रो लकडाउनले भने धेरै फाइदा भयो ।

‘पहिले दैनिक सय अर्डर हुने ठाउँमा दोस्रो लकडाउन शुरु भएसँगै दैनिक यो संख्या १५० पुग्यो,’ सरोज भन्छन् ।

साढे दुई वर्ष बितिसक्दा व्यवसायमा अलिक फड्को मार्न सकिन्छ कि भन्ने लागिरहेको छ सरोजलाई । लगानी थप्दै १ करोड २५ लाख पुर्याइसकेका छन् । जसले गर्दा कम्पनी ब्रेक इभनमा पुगिसकेको छ ।

‘अब पैसा हाल्न नपर्ने अवस्थामा पुगेका छौं,’ सरोज भन्छन् ।

डेलिभरी गर्ने स्टाफ १५ जना छन् । अन्य १० जना कर्मचारी गरी २५ जनाको टीम छ । वार्षिक कारोबार पहिलो वर्ष १ करोड ८० लाख रुपैयाँको बिक्री भएको थियो । दास्रो वर्ष २ करोड ४० लाख भयो ।

बिराटनगरलाई आधार मानेर यस वरिपरी डेलिभरी सेवा दिइरहेका छन् । पूर्वमा जीवन विकास समाजको कार्यालय, उत्तरमा बुढिगंगा, विराट मेडिकल कलेजसम्म, दक्षिणमा रानी र पश्चिममा इटहरिसम्म डेलिभरी गर्छन् । बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म अर्डर लिन्छन् र डेलिभरी राति १० बजेसम्म गर्छन् ।

ग्राहकहरु खाना अर्डरका लागि मुख्य गरी मोबाइल एप प्रयोग गर्छन् । उनका अनुसार ९५ प्रतिशत मोबाइल एप प्रयोग हुन्छ भने बाँकी वेवसाइट र टेलिफोनबाट पनि अर्डर हुन्छ । उनको मोबाइल एप ३५ हजार पटक डाउनलोड भइसकेको छ ।

क्विकर फुड आएपछि बिराटनगरमा अन्य फुड डेलिभरी कम्पनी पनि थपिएका छन् । यसबीचमा केही बन्द पनि भए । अहिले ३ वटा भने सञ्चालनमा छन् । बजारको यथार्थ नहेरी देखासिकी गर्दा केही कम्पनी बन्द भएको उनको बुझाइ छ ।

उनी उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इनोभेसन समितिको सदस्य पनि हुन् । उनले त्यहाँ अन्य स्टार्टअप शुरु गर्न चाहनेका लागि मेन्टरका रुपमा काम गर्छन् । यो उनका लागि सिक्ने र सिकाउने अवसर भएको उनको भनाइ छ ।

क्विकर फुडलाई अझ फैलाउन विभिन्न योजना बनाउँदै छन् सरोज । जस्तो कि एउटा संस्थासँग फण्ड पनि ल्याउँदै छन् । उक्त फण्डलाई फलफूल र तरकारी डेलिभरीको सेवालाई बढी सक्रिय बनाउने उनको सोच छ ।

त्यस्तै, क्लाउड किचन बनाउने योजना पनि छ । बजारमा रेष्टुराँ खोल्नुभन्दा अघि र बन्द भएपछि आउने अर्डरका लागि पनि उनीहरुले आफै किचन सञ्चालन गर्न खोजिरहेका छन् ।

भविष्यमा बिराटनगरमा फेड डेलिभरीको व्यवसाय अझ राम्रो हुनेमा उनी विश्वस्त छन् । हाल दैनिक २ सयभन्दा बढी अर्डरको संख्यालाई आगामी एक वर्षमा बढाएर दैनिक ३५० पुर्याउने उनको योजना छ ।


सन्तोष न्यौपाने