भारतमै आइफोन उत्पादन गर्न टाटा समूहले तयारी थाल्यो



काठमाडौं । व्यापारिक घराना टाटा समूहले भारतमै आइफोन उत्पादन गर्ने तयारी थालेको छ । टाटाले भारतमा इलेक्ट्रोनिक्स म्यानिफ्याक्चरिंग कम्पनी स्थापना गर्नका लागि एक ताइवानी सप्लायर्स कम्पनी विस्ट्रन कर्पसँग छलफल गरिरहेको ।

यो संयुक्त लगानीसम्बन्धी डिल सफल भएमा भारतमै आइफोन उत्पादन गर्ने टाटा समूहको सपना साकार हुनेछ । साथै, टाटा भारतमा आइफोन उत्पादन गर्ने पहिलो कम्पनी हुनेछ ।

अहिले ठूलो परिणाममा चीनले आइफोन उत्पादन गर्दै आएको छ । आइफोन अमेरिकाको एप्पल कम्पनीको उत्पादन हो । र, यो महंगो भएपनि विश्वभर लोकप्रिय छ ।

दक्षिण एशिया पनि आइफोनको ठूलो बजार हो, त्यसमध्येको भारत मूख्य हो । भारतमा आइफोन उत्पादन हुन थालेपछि चीनको उत्पादनसँग कडा टक्कर हुने आँकलन गरिएको छ ।

चीनको म्यानिफ्याक्चरिंग उद्योगमा कोरोनाको ठूलो असर परेको र ताइवानको विषयलाई लिएर अमेरिका(चीनबीचको बढ्दो राजनीतिक दूरीको फाइदा भारतले उठाउन सक्छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार ताइवानी कम्पनीसँग टाटाले गरेको डिलले अन्तिम रुप पाउन बाँकी छ । अहिले कसको सेयर कति हुने भन्नेमा तीब्र छलफल भइरहेको छ । र, यो केही समयमै टुंगो लाग्ने बताइएको छ । उक्त छलफलमा सहभागी टाटा समूहका एक अधिकारीका अनुसार आइफोन उत्पादनका लागि ताइवानले भारतमा कम्पनी स्थापना गर्ने र त्यसको सेयर टाटाले किन्न सक्नेछ । वा, नयाँ कम्पनी खडा गरेर आफ्नै प्लान्टबाट टाटाले आइफोन उत्पादन गर्न सक्नेछ । एप्पल स्थानीय कम्पनीसँग मिलेर आइफोन उत्पादन गर्न चाहन्छ । अहिले एप्पलको नजर पनि भारतमा छ ।

भारतमा स्थापना हुने नयाँ कम्पनीको लक्ष्य स्ट्रिनले अहिले उत्पादन गर्दै आएको आइफोनभन्दा ५ गुणा बढी उत्पादन बढाउने छ । यो साझेदारी आइफोन उत्पादनमा मात्रै सीमित नरहने बताइएको छ । स्मार्टफोन पनि उत्पादन गर्ने उदेश्य राखिएको छ । टाटा समूहका अध्यक्ष नटराजन चन्द्रशेखरन आफूहरुले इलेक्ट्रोनिक्स अर्थात् आइटेक म्यानिफ्याक्चरिंग कम्पनी स्थापना गर्न केन्द्रित भएको बताउँदै आएका छन् ।

सफ्टवेर, स्टील र कारलगायतका बिजनेशमा टाटा समूहको बलियो उपस्थिति छ । दक्षिण भारतमा आइफोनको चेचिसका लागि आवश्क पर्ने विभिन्न कम्पोनेन्ट निर्माण शुरु गरी स्मार्टफोन सप्लाई चेनका लागि शुरुवाती कदम अघि बढाइसकेको छ ।

ताइवानको कम्पनी विस्ट्रनले सन् २०१७ देखि भारतको कर्नाटकमा प्लान्ट स्थापना गरेर आइफोन एसेम्बल गर्न शुरु गरेको थियो । भारतमा आइफोन ११, १२ र १३ उत्पादन भएको थियो । अझ आइफोन १३ त ७ महिनामै उत्पादन भएको थियो । भारतमा उत्पादित आइफोनले विश्वको ५ देखि ७ प्रतिशत हिस्सा ओगट्छ भने भारतीय बजारको ८५ प्रतिशत माग पूरा गरेको छ ।

अहिले चीनले सबैभन्दा धेरै आइफोन उत्पादन गर्दै आएको छ । चीनमा भएको प्लान्टले एक मिनेटमा ३५० वटा आइफोन उत्पादन गर्न सक्छ । झेंग्झोमा फक्सकनको २.२ वर्गमिल क्षेत्रफलमा भएको प्लान्ट छ, जहाँ ३ लाख ५० हजार कर्मचारीहरु काम गर्छन् ।


क्लिकमान्डु