तरलता अभाव छैन, लगानीयोग्य पूँजीको अभाव होः डेपुटी गभर्नर मिश्र



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालमा तरलता अभाव नभएको बताएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा मिश्रले नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको अभाव भएको बताए ।

‘हामी लगानीयोग्य पूँजीको अभावलाई तरलता अभाव भन्छौं,’ डेपुटी गभर्नर मिश्रले भने, ‘ यहाँ विदेशी निकायका प्रतिनिधि पनि हुनु हुन्छ । सबैले बुझ्नु पर्छ । हाम्रो समस्या तरलता अभाव नभएर लगानीयोग्य पूँजीको अभाव हो ।’

मिश्रले नेपालका बैंक तथा वित्तीय संस्थाले दीर्घकालिन निक्षेप संकलन गर्न नसक्दा ठूला पूर्वाधार आयोजनामा दीर्घकालिन लगानी गर्न नसकेको बताए ।

‘हामीले ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने क्षमता विकास होस् भनेरै ठूला बैंक बनाएका हौं,’ मिश्रले भने, ‘बैंक वित्तीय संस्थाले ठूलो परियोजनामा दीर्घकालिन लगानी गर्न सकुन् भनेरै प्राथमिक पूँजीको १०० प्रतिशत ऋणपत्र जारी गर्न मिल्ने व्यवस्था गरिएको हो ।’

नेपालमा रहेको पूर्वाधारको अन्तर पुरा गर्न विदेशी लगानी ल्याउनुको विकल्प नरहेको मिश्रले बताए ।


क्लिकमान्डु