पिपुल्स् हाइड्रोपावरले आयोजना प्रभावितलाई भदौ ३१ गतेदेखि आइपीओ निष्कासन गर्दै



काठमाडौं । पिपुल्स् हाइड्रोपावरले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । हाइड्रोपावरले भदौ ३१ गतेदेखि स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रूपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

जसमध्ये कम्पनीले अतिप्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका वडा नम्बर ६ र ७ (तत्कालीन ढोढेनी र फलेनी गाविस) का स्थानीय बासिन्दाहरूका लागि ३० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता तथा लमजङ्ग जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा असोज १४ गते र ढिलोमा असोज ३० गते हुने कम्पनीले जनाएको छ ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीकाअनुसार इच्छुक आवेदकले ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, भार्लेटार शाखा र हिलेको एक्सटेन्स काउण्टर, एनएमबी बैंकको भोडेवडार, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु