जीवन बीमा व्यवसायको ३२% हिस्सा नेपाल लाइफले ओगट्यो, संस्थान र प्रभु बाहेक सबैको बढ्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा १५ अर्ब ५ करोड ७४ लाख रूपैयाँको व्यवसाय गरेका छन् ।

गत आर्थिक वर्षको तुलनामा कम्पनीहरूको व्यवसाय ९.३५ प्रतिशतले घटेको हो । गत आवमा कम्पनीहरूले १६ अर्ब १६ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

चालु आवको साउन महिनामा कम्पनीहरूले प्रथम बीमाशुल्कबाट २ अर्ब २० करोड ३३ लाख रूपैयाँ र नवीकरण बीमाशुल्कबाट १२ अर्ब ८५ करोड ४० लाख रूपैयाँ गरी कुल १५ अर्ब रूपैयाँ संकलन गरेका हुन् ।

साउन महिनामा कम्पनीहरूमा ७ लाख १० हजार ३४ वटा बीमालेख जारी भएका छन् ।

तथ्यांकअनुसार जीवन बीमा व्यवसायको ३२ प्रतिशत हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । साउन महिनामा नेपाल लाइफले कुल जीवन बीमा व्यवसायको ३१.७० प्रतिशत बजार हिस्सा ओगटेको हो ।

साउन महिनामा नेपाल लाइफले ४ अर्ब ७७ करोड रूपैयाँ संकलन गरेको छ । गत आवको तुलनामा इन्स्योरेन्सले ०.२९ प्रतिशतले व्यवसाय बढाएको हो । गत आर्थिक वर्षको साउन महिनामा इन्स्योरेन्सले ४ अर्ब ७६ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

गत आवको तुलनामा कम्पनीको बजार हिस्सा ३.०५ प्रतिशत विन्दुले बढेको हो । गत आवमा इन्स्योरेन्सले कुल जीवन बीमा व्यवसायको २८.६६ प्रतिशत हिस्सा ओगटेको थियो ।

अन्य १८ वटा कम्पनीले ६८.३० प्रतिशत बजार ओगटेका छन् । तथ्यांकअनुसार गत आवको तुलनामा राष्ट्रिय बीमा संस्थान र प्रभु लाइफ बाहेक सबै कम्पनीको बजार हिस्सा बढेको छ ।

गत आवको तुलनामा राष्ट्रिय बीमा संस्थानको बजार हिस्सा १९.१२ प्रतिशतले घटेर ३.३३ प्रतिशतमा सीमित भएको छ । संस्थानको व्यवसाय ८६.५४ प्रतिशतले घटेसँगै बजार हिस्सा पनि खुम्चिएको हो ।

यस्तै, कुल जीवन बीमा व्यवसायमा प्रभु लाइफले १.५६ प्रतिशत हिस्सा ओगटेको छ । गत आवको तुलनामा प्रभुको बजार हिस्सा ०.४९ प्रतिशत विन्दुले घटेको हो ।

व्यवसाय ३०.९८ प्रतिशतले घटेका कारण प्रभुको बजार हिस्सा पनि खुम्चिएको हो ।

एलआईसी नेपालको बजार हिस्सा ७ प्रतिशतले बढ्यो

तथ्यांकअनुसार १९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले बजार हिस्सा बढाउने कम्पनीको सूचीमा एलआइसी नेपाल परेको छ । गत आवको तुलनामा एलआइसीको बजार हिस्सा ६.५० प्रतिशतले बढेर १२.५२ प्रतिशत पुगेको हो ।

गत आवमा एलआइसीले कुल जीवन बीमा व्यवसायको ६.०२ प्रतिशत मात्रै बजार हिस्सा ओगटेको थियो । गत आवको तुलनामा एलआइसीको व्यवसाय ८८.४९ प्रतिशतले बढेर १ अर्ब ८८ करोड पुगेको छ । गत आवको साउन महिनामा एलआइसीले १ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

सन नेपालको बजार हिस्सा २.३३ प्रतिशत विन्दुले बढेर २.६२ प्रतिशत पुगेको छ । यस्तै, नेशनलले १०.७३ प्रतिशत, यूनियनले ५.३४ प्रतिशत, एशियन लाइफले ४.६९ प्रतिशत, ज्योति लाइफले २.६८ प्रतिशत, प्राइम लाइफले ३.०७ प्रतिशत, सिटिजन लाइफको ३.४५ प्रतिशत, आईएमई लाइफले २.५४ प्रतिशत र सूर्याले ३.५९ हिस्सा ओगटेका छन् ।


क्लिकमान्डु