वाणिज्य बैंकले ९% भन्दाबढी ब्याज मागेपछि राष्ट्र बैंकले दियो सरकारलाई ऋण



काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउन जारी गरेको ट्रेजरी बिल आफैं खरिद गरेको छ ।

सोमबार राष्ट्र बैंकले जारी गरेको २ अर्ब रुपैयाँको ट्रेजरी बिलमध्ये १ अर्ब ६० करोडको ट्रेजरी बिल आफैं खरिद गरेको हो ।

वाणिज्य बैंकले ३६४ दिनको ट्रेजरी बिलमा ९.०८ प्रतिशत भन्दाबढी ब्याज मागेपछि राष्ट्र बैंकले ८.८९ प्रतिशत ब्याजदरमा ट्रेजरी बिल खरिद गरेको हो ।

गत साउन १० गते राष्ट्र बैंकले नवीकरणका लागि ल्याएको ट्रेजरी बिलमा बैंकहरुले १४ प्रतिशतसम्म ब्याज माग गरेपछि राष्ट्र बैंकले आफैं ट्रेजरी बिल खरिद गर्दै सरकारलाई ऋण दिइरहेको छ ।

चालु आर्थिक वर्षको भदौ २० गतेसम्म राष्ट्र बैंकले ३५ अर्ब ४० करोड रुपैयाँको ट्रेजरी बिल खरिद गर्दै सरकारलाई ऋण दिइसकेको छ ।

९.०८ प्रतिशत ब्याज माग गर्ने वाणिज्य बैंकलाई भने ४० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरिएको छ ।

सोमबार राष्ट्र बैंकले ९१ दिन र ३६४ दिनको गरी ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो ।

सोमबार ९१ दिन अवधिको ४ अर्ब २६ करोडको ट्रेजरी बिल बोलकबोल हुँदा १६ बैंक तथा वित्तीय संस्थाले कुल ८६ आवेदनमार्फत ट्रेजरी बिल खरिद गर्ने प्रस्ताव गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाले ८.८३ प्रतिशत र ९.२० प्रतिशत ब्याजदरमा ट्रेजरी बिल खरिद गर्ने प्रस्ताव गरेकाले ९१ दिन अवधीको ट्रेजरी बिल बैंक वित्तीय संस्थालाई बिक्री गरिएको छ ।


क्लिकमान्डु