महानगरको चेतावनीपछि विद्युत प्राधिकरणले पठायो पत्र, १५ करोडभन्दा धेरै कर तिर्दै



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सम्पत्ति कर तिर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले कर नबुझाउने संस्थालाई कारबाही गर्ने चेतावनी दिएपछि आइतबार विद्युत प्राधिकरणले महानगरको राजस्व विभागलाई पत्र लेख्दै नियमानुसार कर तिर्ने जनाएको हो ।

प्राधिकरणले विभिन्न लालपूर्जाको प्रतिलिपि पठाउँदै आफूले तिर्नुपर्ने सम्पत्ति कर एकिन गर्न महानगरको राजस्व विभागलाई आग्रह गरेको छ । महानगरको राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले प्राधिकरणले तिर्नुपर्ने सम्पत्ति करको हिसाब भइरहेको जानकारी दिए ।

‘हामी प्राधिकरणले बुझाएको कागजातका आधारमा सम्पत्ति कर सम्बन्धि हिसाब गरिरहेका छौं,’ अधिकारीले भने, ‘प्रारम्भिक गणनामा करिब १५ करोड रुपैयाँ सम्पत्ति कर तिर्नु पर्ने देखिएको छ । प्राधिकरणको सबै सम्पत्ति एकिन भएपछि मात्र कति कर तिर्नुपर्छ भन्ने थाहा हुन्छ ।’

काठमाडौं महानगरले काठमाडौं फनपार्कलाई यसअघि कर तिर्न भन्दै पत्र पठाएको थियो । महानगरको पत्रपछि फनपार्कले कर तिरेको थियो । त्यस्तै महानगरलाई खाद्य संस्थानलगायतका सरकारी संस्थानहरुले सम्पत्ति कर बुझाउन बाँकी छ ।

‘राष्ट्रिय बाणिज्य बैंक, नेपाल टेलिकम, नेपाल बैंक लगायतका संस्थाले महानगरलाई नियमित कर तिरिरहेका छन्’ अधिकारीले भने, ‘कर नतिर्ने सबै संस्थालाई कानूनबमोजिम पत्र पठाउँछौं । कानूनअनुसार सबैले कर तिर्नै पर्छ ।’


क्लिकमान्डु