बालेन शाहको स्पष्टिकरणः १०० दिनको दौडमा छैन, ५ वर्ष काम गर्ने योजना छ
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले कार्यकालको १०० दिन पुगेको सन्दर्भमा स्पष्टिकरण दिएका छन् । सामान्यतयाः १०० दिन पुगेको अवसरमा आफ्ना उपलब्धीहरु सार्वजनिक हुने गरेको भए पनि बालेनले भने यसबीच भएका केही विवादहरुका विषयमा स्पष्टिकरण दिएका हुन् ।
प्रमुख शाहले फूटपाथ, यमबुद्धको शालिक, विज्ञलााई १ करोड दिनेदेखि नर्भिक अस्पतालमा अवैध संरचना हटाउने विषयमा स्पष्टिकरण दिएका हुने ।
‘हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मूल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ,’ उनले भनेका छन् ।
उनले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गरेको भन्दै त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले आफूहरुलाई फरक पार्ने बताए ।
‘मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौं । यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केही सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ,’ उनले भनेका छन् ।
१. फुटपाथबाट मकैको ठेला हटाएकोः यो सन्दर्भले अझै पनि सही वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रुहरुका लागि हो । शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फूटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो, जुन पूर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुनः फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यहि गरियो र गरिँदैछ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । योभन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहि गर्यौँ । जसको नतिजा बानेश्वर तथा असनलगायतका क्षेत्रहरुमा सकारात्मकरुपमा देखिन थालेको छ ।
२) विज्ञलाई १ करोडः गीत गाउने, नाच्ने जस्ता कलाकारप्रति केही पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरुका लागि त सम्मानभन्दा पनि अफ्ठ्यारा बढी थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । इ(स्पोर्टस पनि खेलकारुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको बिषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने ? त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भएपछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।
३) यमबुद्धको सालिकः एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो । बुँदा २ मा इस्पोर्टसको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ विधा हो । यमबुद्ध सो विधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफू त्यो विधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भूमिका हुनुपर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केहि फेरबदल गर्यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठूलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ ।
४) कार्यक्रममा मद्यपान र मुकुट परिवर्तनः मान्छे एउटै जीवनभित्र फरक फरक भूमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किदै फुटसलमा रमाइरहेको हुनसक्छु । यी हरेक भूमिकाका लागि अर्को भूमिकाभन्दा विपरीत हुनुपर्ने पनि हुनसक्छ । माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनिक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु ।
५) फोहोर व्यवस्थापनमा ढिलाइः यसमा के स्वीकार्नु पर्दछ भने १०० दिनभित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौं, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौं । यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौं ।
६) नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमाः जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहिरुपमा प्रयोग हुनुपर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौं । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउने सेतुका रुपमा मात्रै हामीले ती कार्यहरु गरेका छौं । सायद जनप्रतिनिधि हुनुको औचित्य पनि त्यहि हो ।
अन्त्यमा, हामी १०० दिनको दौडमा छैनौं, हामीसँग ५ वर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौं । तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौं । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौं