लाईसेन्स दिँदा पैसा खाने प्रचलन बढ्यो, यसको अन्त्य गर्नुपर्छः उपाध्यक्ष डा.पौडेल



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले नेपालमा लाईसेन्स दिँदा पैसा खाने प्रचलन बढेको भन्दै लाईसेन्स राजको अन्त्य गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औ बार्षिक साधारणसभामा यस्तो बताएका हुन् । उपाध्यक्ष डा. पौडेलले नेपालमा लाईसेन्स दिँदा विभिन्न खाले हल्ला हुने गरेको भन्दै यसको अन्त्य गर्नुपर्ने आवश्यकता भएको तर्क गरे । ‘लाईसेन्सले हरेक क्षेत्रमा एकाधिकार जन्मायो’ उनले भने ‘कुनै क्षेत्रमा पनि एकाधिकार हुनुहुँदैन ।’

उपाध्यक्ष पौडेलले नेपालमा पनि विस्तारै मानिसले पैसा बचत गर्ने प्रचलन सुुरु भएको र त्यसले अर्थतन्त्र सुधारको बाटोमा जाने तर्क गरे । ‘केही समय अघिसम्म मानिसले नयाँ घर बनाउने, पुराना घरबाट नयाँ घरमा सर्ने, सहरी क्षेत्रमा घर निर्माण गर्ने गरेका थिए’ उनले भने ‘अब नेपालमा यो चलकमा केही कमी आएको छ, पहिला घर, घडेरीमा जाने पैसा अब बचतमा जाने छ ।’

अबको ५बर्षमा केही सडक आयोजना निर्माण पुरा हुने र त्यसले पनि अर्थतन्त्र सुधारमा सहयोग पुग्ने दाबी गरे । अहिले देशभर सडक बनिरहेको र ती सडक पिचहुन नसकेकाले कनेक्टिभिटिमा समस्या भएको उनको तर्क छ । अबको ५ वर्षमा यो समस्या कम हुँदै जाने उपाध्यक्ष पौडेलको विश्वास छ ।

उपाध्यक्ष पौडेलले अहिले स्कुल, स्वास्थ्य चौकी लगायत क्षेत्रका पुर्वाधारमा लगानी बढेको भएपनि सफ्टवेयर लगायत क्षेत्रमा लगानी नभएको भन्दै अबको ५ बर्ष सफ्टवेयरमा लगानी बढाउनु उनको सुझाव छ । सफ्टवेयरमा लगानी बढाउने हो भने अर्थतन्त्र थप सुधारतर्फ जाने उनको तर्क छ ।

उपाध्यक्ष पौडेलले कृषि लगायतका क्षेत्रमा लगानी बढाउन सक्ने हो भने दीर्घकालीन रुपमा अर्थतन्त्रमा स्थायित्व हुने धारणा राखे । किसानलाई समयमा बीउ मल दिने हो भने कृषिमा ग्रोथ आउने र त्यसतर्फ अबको ५ बर्षमा ध्यान दिनुपर्ने उनको बुझाइ छ ।


क्लिकमान्डु