सेबोनले दियो ६ कम्पनीलाई भेञ्चर क्यापिटलको अनुमति, अब कति बाँकी ?
काठमााडैं । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले भेञ्चर क्यापिटल सञ्चालन गर्नका लागि आवेदन दिएका मध्ये ६ वटालाई सञ्चालन अनुमति दिएको छ ।
बोर्डअध्यक्ष रमेश हमालले ६ वटा कम्पनीलाई भेञ्चर क्यापिटल सञ्चालनका लागि अनुमति दिएको बताए ।
गत बुधबार बसेको सञ्चालक समितिको बैठकले थप ६ वटा कम्पनीलाई भेञ्चर क्यापिटलको काम गर्न अनुमति दिएको हो ।
अनुमति पाउने नयाँ कम्पनीमा नबिल इन्भेष्टमेन्ट बैंकिङ, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, एनआईबीए एस क्यापिटल र एनएमबी क्यापिटल रहेको छ ।
बोर्डले यसअघि ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्डलाई भेन्चर क्यापिटलको अनुमति दिइसकेको छ ।
बोर्डका अनुसार आध्यान्त फण्ड लिमिटेडलाई पनि क्यापिटलको सञ्चालन अनुमित दिने अन्तिम चरणमा रहेको छ ।
बोर्ड अध्यक्ष हमालले प्रकृया पूरा गरेर आएका कम्पनीलाई भदौसम्म अनुमतिपत्र दिने बताए । भेन्चर क्यापिटल सञ्चालन गर्न बोर्डमा आवेदन दिएका १७ मध्ये ९ वटा छनोट भएका थिए ।
९ वटालाई आवश्यक पूर्वाधार बनाउन बोर्डले निर्देशन दिएको थियो । पूर्वाधार तयार पारेका मध्ये पहिला २, बुधबार ६ सहित ८ वटाले अनुमति पाएका छन् । अब एउटा कम्पनीले अनुमति पाउन बाँकी रहेको छ । त्यसलाई पनि भदौभित्रै अनुमति दिने तयारीमा बोर्ड रहेको छ ।
योसँगै बोर्डले नीति तथा कार्यक्रम कार्यान्वयन पनि शुरु गरेको छ । अध्यक्ष हमालका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको ९ नम्बर बुँदामा ‘भेञ्चर क्यापिटलको माध्यमबाट पुँजी तथा व्यवसायिक ज्ञान परिचालन गर्न सक्नेगरी अनुमतिपत्र प्रदान गरी सम्मुन्नतिको दायरा बढाइनेछ’ भन्ने उल्लेख थियो ।