मर्जरमा जाने सम्झौता गरेका बीमा कम्पनीले तय गरे एकीकृत कारोबारको मिति, कसको कहिले ?



काठमाडौं । गत चैत १० गते बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो ।

समितिको नयाँ व्यवस्थाअनुसार बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गर्नुपर्नेछ । १ वर्षभित्र पुँजी वृृद्धि गर्नुपर्ने समितिको निर्देशनपश्चात् रकम थप गर्न नसक्ने बीमा कम्पनीहरूले मर्जरको बाटो रोजे ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरूले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको भनाइ थियो ।

सोहीबमोजिम समितिले पुँजी वृद्धिको योजना ल्याएपछि हालसम्म १७ वटा बीमा कम्पनीले मर्जरमा जाने सम्र्झातापत्रमा हस्ताक्षर गरिसकेका छन् ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले पहिलो पटक मर्जरमा जाने सम्झौता गरेका थिए । वैशाख २२ गते हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले एक आपसमा गाभ्ने÷गाभिने सहमति गरेका थिए ।

यी दुई कम्पनीले एकीकृत करोबार शुरू गरिसकेका छन् । अन्य कम्पनीले पनि एकीकृत कारोबार गर्ने मिति तय गरेका छन् ।

समितिकाअनुसार मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले कात्तिक १ गतदेखि एकीकृत कारोबार गर्ने भएका छन् । ज्योति लाइफ र सूर्या लाइफबीच असार १२ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए । यी कम्पनीले पनि कात्तिक १ गतेदेखि नै एकीकृत करोबारको थालनी गर्ने भएका छन् ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले असार २७ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सिद्धार्थ र प्रिमियरले पनि कात्तिक महिनाभित्रमा नै एकीकृत कारोबार गर्ने भएका छन् ।

सानिमा लाइफ र रिलायन्स लाइफ, सानिमा जनरल र जनरल इन्स्योरेन्सले असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीले पुसभित्र एकीकृत कारोबार गर्ने छन् ।

असार ३० गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलले चैतमा एकीकृत कारोबार थाल्ने भएका छन् ।

सानिमा र जनरल इन्स्योरेन्सले कात्तिक १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यी कम्पनीले असार २९ गते सम्झौतापत्रमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका सानिमा लाइफ र रिलायन्सले पुस महिनादेखि एकीकृत कारोबार थाल्ने समितिले जनाएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २७ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीले पनि पुस मसान्तभित्र एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।

असार ३२ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले भने एकीकृत करोबार गने मिति तोकेका छैनन् ।


क्लिकमान्डु