६८% जीवन बीमालेख बाग्मती प्रदेशमा, कर्णालीमा १.७९ % मात्रै



काठमाडौं । १ वर्षमा जीवन बीमालेखको संख्या ५२.०९ प्रतिशतले बढेर १ करोड नाघेको छ ।

समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा जीवन बीमालेखको संख्या १ करोड ३० लाख ९९ हजार ६३२ पुगेको हो । समितिकाअनुसार यी बीमालेखहरू जीवन बीमा कम्पनीमा सक्रिय बीमालेख हुन् ।

अघिल्लो आवमा जीवन बीमालेखको संख्या ८६ लाख १२ हजार ८५० थियो ।

समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार ७ प्रदेशमध्ये सबैभन्दा धेरै बीमालेख बाग्मती प्रदेशमा जारी भएका छन् । कुल बीमालेखको ६८.७० बीमालेख बागमती प्रदेशमा जारी भएका छन् ।

तथ्यांअनुसार बाग्मती प्रदेशमा कुल ८९ लाख ९९ हजार ९१६ वटा बीमालेख जारी भएका छन् ।

बीमा कम्पनीका शाखा कार्यालय, अभिकर्ता संख्या पनि बाग्मती प्रदेशमा नै बढी देखिन्छ ।

अन्य प्रदेशको तुलनामा दुर्गम मानिने कर्णाली प्रदेशमा भने जीवन बीमाको पहुँच न्यून छ । कर्णाली प्रदेशमा कुल २ लाख ३४ हजार ३५७ वटा बीमालेख जारी भएका छन् । जुन कुल बीमालेखको १.७९ प्रतिशत मात्रै हो ।

बीमा साक्षरता नपुग्दा दुर्गम क्षेत्रमा बीमाको पहुँच पुग्न नसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।

जसका लागि समिति र बीमा कम्पनीले साक्षरताका कार्यक्रम चलाउँदै आएको उनले बताए । समिति र कम्पनीहरूले चलाएका त्यस्ता कार्यक्रमले ग्रामीण भेगका मानिसमा बीमा पहुँच पुग्ने उनको भनाइ छ ।

अन्य प्रदेशको तुलनामा बाग्मती प्रदेशमा सेवा सुविधा बढी भएकाले गर्दा पनि बीमा कम्पनीहरू ग्रामीण भेगमा जान नखोजेको उनले बताए ।

‘बीमा व्यवसाय र पहँुच अन्य प्रदेशको तुलनामा बाग्मती प्रदेशमा बढी छ । सेवा, सुविधा बढी भएकै कारणले गर्दा पनि त्यही भएर हामीहरू स्थानीय निकायमा गएर साक्षरताको कार्यक्रम चलाईरहेका छौँ,’ पौडेलले क्लिकमाण्डूसँग भने,‘कम्पनीहरूलाई पनि हामीले सबै क्षेत्रमा जानु भनेका छौँ।’

बीमा कम्पनीका शाखा सबै जिल्लामा विस्तार भए पनि सदरमुकाममा मात्रै केन्द्रीत हुने गरेको उनको भनाइ छ । समितिले जीवन बीमा कम्पनीहरूलाई जिल्ला तोकेर बीमाको प्रचार प्रसार गर्न सकितिले निर्देशन समेत दिईसकेको छ ।

सुदरश्चिम प्रदेशमा ५ लाख ५७ हजार ३०५ वटा बीमालेख जारी भएका छन् । जुन कुल बीमालेखको ४.२५ प्रतिशत हुन आउँछ ।

मधेश प्रदेशमा कुल ५ लाख ९७ हजार ८८८ वटा बीमालेख जारी भएका छन् । कुल बीमालेखको ४.५६ प्रतिशत बीमालेख मात्रै सो प्रदेशमा सक्रिय छन् ।

गण्डकी प्रदेशमा ६ लाख १६ हजार ०४३ वटा बीमालेख जारी भएका छन् । लुम्बिनी प्रदेशमा सक्रिय बीमालेखको संख्या १० लाख ३८ हजार ९६९ छ । यो कुल बीमालेखको ७.९४ प्रतिशत हो ।

प्रदेश १ मा १० लाख ५५ हजार १५४ वटा बीमालेख जारी भएका छन् । जारी बीमालेखको ८.०५ प्रतिशत हो ।

समितिकाअनुसार सावधिक जीवन बीमालेखको संख्या २० लाख ३८ हजार ३४९, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको संख्या ४ लाख ५० हजार ९८७, रूपान्तरित सावधिक जीवन बीमालेखको संख्या ५ लाख १५ हजार ८४७ र बालबच्चसम्बन्धि सावधिक जीवन बीमा लेखको संख्या ९ लाख २५ हजार ७९७ छ ।

यस्तै, वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको संख्या ८ लाख ९१ हजार ११३, आजीवन जीवन बीमालेखको संख्या १ लाख ४६ हजार ९३०, एकल बीमाशुल्क जीवन बीमालेखको संख्या २२ हजार २५२ म्यादी जीवन बीमालेखको संख्या, म्यादी जीवन बीमालेखको संख्या ३९ लाख ९४ हजार १६६ र लघु जीवन बीमालेखको संख्या ४१ लाख १४ हजार १९१ छ ।


क्लिकमान्डु