रिलायबल लाइफले बढायो बोनसदर, बीमितले अधिकतम ७५ रूपैयाँसम्म पाउने



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा बोनस दर बढाएको छ ।

इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरूअन्तर्गत आव २०७७/७८ का लागि प्रतिहजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनसदर दिने भएको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

आव २०७६/०७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम १३ रूपैयाँ र अधिकतम ७० रूपैयाँ बोनसदर कायम गरेको थियो ।

कम्पनीले रिलायबल सावधिक जीवन बीमालेखअन्तर्गत बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनसदर कायम गरेको छ ।

यस बीमा योजनामा २० वा सो भन्दा माथि बीमा अवधिका लागि ७५ रूपैयाँ बोनसदर कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

लघु सावधिक जीवन बीमालेखमा सबै बीमा अवधिहरूका लागि कम्पनीले प्रति हजार ३० रूपैयाँ बोनसदर निर्धारण गरेको छ ।

कम्पनीको रिलायबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी) अन्तर्गत सबै बीमालेखहरूका लागि प्रति हजार २५ रूपैयाँ बोनसदर कायम भएको छ ।

रिलायबल सुलभ जीवन बीमालेखअन्तर्गत बीमा अवधिअनुसार कम्पनीले प्रति हजार न्यूनतम २४ रूपैयाँदेखि अधिकतम ४० रूपैयाँ बोनसदर तोकेको छ ।

रिलायबल उच्च शिक्षा योजना(बालबच्चाको सावधिक बीमालेख) अन्तर्गत इन्स्योरेन्सले न्यूनतम प्रतिहजार ६० रूपैयाँ र अधिकतम ६५ रूपैयाँ बोनसदर कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमा योजनामा इन्स्योरेन्सले न्यूनतम ३० रूपैयाँदेखि अधिकतम ५० रूपैयाँ बोनसदर कायम गरेको छ ।

रिलायबल समुन्नती जीवन बीमामा सबै बीमा अवधिका लागि प्रति हजार २० रूपैयाँ बोनसदर कयाम भएको छ ।

रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमितले न्यूनतम प्रतिशजार ५० रूपैयाँ र अधिकतम ५५ रूपैयाँ बोनसदर पाउनेछन् ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ ।

साथै, कम्पनीकाअनुसार आगामी बीमाङ्कीय मूल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरूमा यही बोनसदर कायम हुने छ ।


क्लिकमान्डु