सहर बन्ने ‘कस्ट’मा जे-जे गर्नुपर्ने हो त्यो गर्छु: बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा अवैधरुपमा बनेका संरचना खाली गर्ने अभियानलाई तिब्रता दिएको छ । बिहीबार बुद्धनगरस्थित अल्फाबिटा हाउसले अवैधरुपमा सञ्चालन गरिरहेको संरचनामा महानगरले डोजर चलाएको हो ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको नेतृत्वमा गएको टोलीले व्यवसायीक भवन निर्माणका लागि लिएको अनुमति बेगर बेसमेन्टमा व्यवसाय सञ्चालन गरेको भन्दै संरचनामा डोजर चलाएको छ ।

बिहीबार बिहान अल्फाबिटा ग्रुप अफ कम्पनीका अध्यक्ष व्यवसायी द्वीराज शर्मासँग भवनको नक्सालाई लिएर मेयर विवाद भएको थियो । शर्माले आफ्नो भवन कानुन बमोजिम रहेको दाबी गरेका थिए । तर नक्सा हेर्दा त्यस अनुरुप भएको नपाइएको भन्दै महानगरले डोजर चलाएको हो ।

उक्त भनवको पहिलो तलामा ल्याव सञ्चालनमा थियो ।

मेयर शाहका स्वकीय सचिव भुपदेव साहले अल्फाबिटाका सञ्चालकले दाबी गरे बमोजिम नभएकाले महानगरले एक्सन लिएको बताए ।

‘जे जसरी पास गरेका छौं त्यो अवैधानिक छैन भन्नु भएको थियो’, उनले भने, ‘घरको नक्सा जाँच गर्दा उहाँहरुले गरेको कुरा गलत रहेछ ।’

मेयर शाह यो अभियान पाँचै वर्ष सञ्चालन गर्ने पक्षमा रहेको उनको भनाइ छ । ‘यो सुरुवात मात्रै हो । यो सहर बन्ने कस्टमा जे जे गर्नुपर्ने हो त्यो उहाँले गर्छु भन्नु भएको छ’ उनले भने ।

महानगरसँग काठमाडौंका सबै भवनबारे एकिन तथ्यांक नभएको र त्यसको अभिलेखिकरण गर्ने काम भइरहेको उनको भनाइ छ ।

‘काठमाडौं महानगरपालिका पुरानो संस्था हो । अहिले भवनहरुको अभिलेखीकरण भइरहेको छ । डेढ लाखको अभिलेखीकरण लगभग सकिएको छ’ उनले भने । काठमाडौं महानगरमा साढे २ लाख भन्दा धेरै घरहरु रहेको उनले बताए ।


क्लिकमान्डु