एनआईसी एशिया क्यापिटलको साधारणसभा सम्पन्न, ५५% लाभांश पारित



काठमाडौं । एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले इकाईधनीलाई चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुने ११ करोड नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । यस्तै सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले आव २०७८/०७९ मा १२ करोड ८ लाख खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी ६०.३९ पैसा कायम गरी संचालनमा रहेका मर्चेण्ट बैंकहरु मध्ये खुद मुनाफाको आधारमा पहिलो स्थान हासिल गरेको दाबी गरे ।

क्यापिटल स्थापना भएको ५ वर्ष ४ महिनामा संचालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरु मध्ये निक्षेप सदस्य सेवा अन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवा अन्तर्गत एउटा खुलामुखी योजना सहित ५ वटा योजना संचालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवा अन्तर्गत ५७३ जना ग्राहकहरुबाट १ अर्व ६७ करोड भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गरेको बताए । क्यापिटल संचालनमा आएको ५ वर्ष ४ महिनाको अवधिमै सेयरधनीलाई १४१ प्रतिशत भन्दा बढी रिर्टन वितरण गर्न सफल भएको समेत जानकारी गराए ।

क्यापिटलले हाल सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु