के हामी तयार छौं ?



विश्वव्यापी आपूर्ति श्रृंखला विगत दुई वर्षदेखि गडबड भइरहेको वर्तमान परिप्रेक्षमा, युक्रेन र रुस टकरावले यसलाई थप संकट उन्मुख बनाएको छ । जुन दिनानुदिन जटिलताको भुग्रोमा परेको आभाष हुन्छ ।

यसले विश्व अर्थतन्त्रमा मुद्रास्फीतिको अवस्थालाई थप जटिल बनाइरहेको आभाष हुन थालेको धेरै भयो । जसका कारण विश्व रोजगारीको अवस्था थप नाजुक बन्ने पक्का देखिन्छ ।

ठूला राष्ट्रहरुमा हालै देखिएको मुद्रास्फीतिका बढ्दो दरका कारण विश्व अर्थतन्त्र संकट उन्मुख छ भनेर आँकलन गर्न त्यति गाह्रो नहोला । तथापी यसलाई रोक्न ठूला अर्थतन्त्रले भरमजदुर प्रयास गरेको देखिन्छ, तर पनि युद्ध अहमको महत्वाकांक्षा भने उनीहरुले छाड्न सकेको देखिँदैन ।

नीरव पुडासैनी

रुसी ग्यासको भरमा रहेका युरापका धेरै देशहरु, यसको आपूर्ति चक्रको मारमा परेर अबको केही महिनाभित्र चरम उर्जा संकटको अवस्थामा पुग्ने देखिन्छ ।

फलस्वरुप उक्त क्षेत्रमा आर्थिक संकटसँगै चरम मुद्रास्फीतिको अवस्था आउन सक्छ । घरेलु प्रयोजनामा प्रयोग हुने उर्जासँगै उद्योगहरुमा प्रयोग हुने उर्जाको पनि चरम अभाव हुनेछ । फलस्वरुप औद्योगिक क्रियाकलापहरु सुस्त हुनेछन् हजारौंको संख्यामा रोजगारीहरु गुम्नेछन् ।

सायद ती देशहरु यसबाट जुँध्न आ–आफ्नो तयारी गरेका होलान् । तर के यसको बाँछिटा नेपालसम्म आइपुग्छ वा पुग्ला ? यो सम्भाव्यतालाई नकार्न सकिन्न, किनभने त्यसको प्रत्यक्ष उदाहरण हामीले पेट्रोलियमको मूल्यमा भोगिसकेको छौं ।

भारतले रुससँग सस्तोमा सम्झौता गरेर किनको तेलले हामीलाई केही फाइदा भएन । उसले विश्व बजारको मूल्यभन्दा एक इञ्च तल गएर हामीलाई बेचेन ।

तसर्थ हामीले अबको सम्भावित अवस्थाको आँकलन गरेर आफ्ना गतिविधिहरुलाई केन्द्रित गर्नुपर्छ । अहिले विश्व बजारमा तेलको मूल्यमा केही कमी आएको छ । यही खुसी मनाउमा सम्बन्धितहरु ढुक्क देखिन्छन्, तर भोलिको सम्भावित मूल्यवृद्धिबाट कसरी जोगिने भन्नेतर्फ रत्ति पनि पुग्न सोचेको देखिँदैन ।

यस किसिमको रवैयाले देशको अर्थतन्त्र थप संकटग्रस्त हुने अवस्थाको सिर्जना नहोस कामना गरौं तर विश्वस्त नहोऔं । यसपटकको हिउँँदभित्र पेट्रोलियमको मूल्यले नयाँ रेकर्ड बनाउने आँकलनहरु गरिएको छ । र, यो सम्भावना रुस युक्रेन टकरावका कारण मात्रै सिर्जित हो । रुसको युद्ध कुटनीति अनुरुप मूल्यवृद्धि हुने सम्भावना नै प्रमुख हो भन्ने जानकारहरु भन्छन् ।

यस किसिमको भूराजनीतिक टकरावको सामू हामी जस्तो पूर्णरुपले आयातमा निर्भर राष्ट्रलाई आर्थिकरुपले ठूलो दबाब रहन्छ । तर सम्भावित खतरालाई आँकलन गरेर त्यसको प्रभावलाइर्ए केही कम गर्ने पायको खोजी गरेर लागू गर्नुबाहेक हाम्रो सामू अर्को कुनै विकल्प छैन भनेर अब बुझ्न ढिला नगरौं ।

योसँगै भारु डलरसँग थप कमजोर भइरहेको अवस्थामा हामीलाई थप पिरोल्ने छ । साथै घरेलु तथा वैदेशिक बेरोजगारी, अनियन्त्रित मूल्यवृृद्धि, कमजोर रुपैयाँ, ठूलो व्यापार घाटा यिनै हाम्रा अहिलेका मुख्य समस्याहरु हुन् ।

जसलाई यो युद्धको वातावरणले थप टेवा दिइरहेको छ । तसर्थ अर्थतन्त्रलाई गति दिन पनि सरकारले आवश्यक वस्तुहरुको बेलगाम आयातलाई कडाइ गर्नुपर्छ । तर सकेको देखिँदैन मात्रै देखावटमा सीमित छ ।

उच्च मुद्रास्फीति र मन्दीको संकेत देखिए पनि बजारमा आर्थिक गतिविधिमा उल्लेखनिय गिरावट भएको देखिन्दैन । ऋण गरेर घिउ खाएको त होइन होल ? नेपाल विल्कुलै निश्चिन्त देखिन्छ ।

विदेशी सञ्चितिको अभाव भएर भारतलाई पेट्रोलियमको पैसा तिर्न नसकेर ब्याज चढिरहेको देख्दा पनि सम्बन्धितहरु चिन्तित देखिँदैनन् । यसको विपरीत विदेशी सञ्चितमा सुधार भनेर प्रचार गरिरहेका छन् ।

विश्व भूराजनीतिका जानकारहरुका आधारमा रुस र युक्रेनको अवस्थामा सुधारको संकेत छैन । तसर्थ विश्व आपूर्ति श्रृंखला र पेट्रोलियमको मूल्यमा अझै केही समय राहतको अवस्था आउने छैन ।


क्लिकमान्डु