नाफामा महालक्ष्मी, बीमाशुल्क र बीमा कोषमा प्रभु लाइफ अब्बल, कुनको अवस्था कस्तो ?



काठमाडौं । बीमा समितिले तोके बमोजिमको ५ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्‍याउन महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सले असार ३० गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुवै कम्पनी समान हैसियतमा एकआपसमा गाभिने भएका हुन् । स्वाप रेसियो १:१ को अनुपातमा गाभिएपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहने छ ।

मर्जरपछि सञ्चालक समितिको अध्यक्षमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका रमेश कुमार भट्टराई रहने सम्झौता भएको छ ।

मर्जरको प्रक्रियामा रहेका यी दुवै कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार महालक्ष्मी लाइफ इन्स्योरेन्स नाफामा अब्बल देखिएको छ । खुद बीमाशुल्क, जगेडा कोष र बीमा कोषमा भने प्रभु लाइफ अब्बल देखिएको छ ।

जगेडा कोष

प्रभु लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ४२ करोड ९६ लाख रूपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको जगेडा कोषमा २६ करोड ८७ लाख रूपैयाँ संचित छ ।

जीवन बीमा कोष

प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३ अर्ब ३ करोड ७१ लाख ८३ हजार रूपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा २ अर्ब १२ करोड ७९ लाख रूपैयाँ सञ्चित छ ।

खुद बीमाशुल्क

प्रभु लाइफले गत आवमा २ अर्ब २९ करोड ३४ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने १ अर्ब ५३ करोड ४६ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

खुद नाफा

प्रभु लाइफले ७ करोड २६ लाख ३८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद मुनाफा ११ करोड ७० लाख २४ हजार रूपैयाँ रहेको छ ।

कम्पनीहरूले हाल प्रकाशित गरेको वित्तीय विवरण बीमांकीय मूल्यांकन अगाडि प्रतिवेदन हो । बीमांकीय मूल्यांकनपछि भने कम्पनीको नाफा तथा घाटामा हुने रकम फरक पर्छ ।

कुल दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सले गत आवमा ७५३ वटा बीमा दाबीवापत ४४ करोड ७९ लाख रूपैयाँ भुक्तानी गरेको छ । महालक्ष्मी लाइफले २ हजार १६० वटा कुल दाबीवापत् २० करोड २५ लाख रूपैयाँ भुक्तानी गरेको छ ।

भुक्तानी हुन बाँकी दाबी

महालक्ष्मी लाइफले २६७ वटा बीमा दाबीवापत् २ करोड २८ लाख कुल दाबी भुक्तानी गर्न बाँकी छ । यस्तै, प्रभु लाइफले २६ वटा बीमा दाबीवापत १ करोड ६२ लाख ८५ हजार रूपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु